मोरङमा सुनको मुन्द्री लुट्न ८९ वर्षीया वृद्धाको हत्याः छोरीले बचाईन, आमाले गहना लुटेर हत्या गरिन

विराटनगर — मोरङको ग्रामथानमा एक वृद्धाको सुनका गहनाका लागि हत्या भएको पुष्टि भएपछि प्रहरीले स्थानीय एक महिलालाई नियन्त्रणमा लिएको छ। ८९ वर्षीया तिलमाया खड्काको हत्या अभियोगमा ४० वर्षीया सीता ऋषिदेव पक्राउ परेकी छन्।

वृद्धा खड्का शनिबार बिहानदेखि बेपत्ता थिइन्। खोजीका क्रममा उनी आइतबार अपरान्ह ग्रामथान–६ मा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा घोप्टो परेर डुबेको अवस्थामा मृत भेटिएकी हुन्।

प्रहरीका अनुसार नहरमा डुबिरहेको अवस्थामा तिलमायालाई देखेकी सीता ऋषिदेवकी छोरी, १९ वर्षीया सोनु ऋषिदेवले उनलाई उद्धार गरेर घर लगेकी थिईन। पानीले भिजेका कपडा फेरेर वृद्धालाई आफ्नो घरमा छाडेर उनी नजिकैको मामाघरतर्फ गइन्। सोही मौकामा सीता ऋषिदेवले वृद्धाको कानमा लगाइराखेका सुनका मुन्द्री खोसेर उनलाई फेरि नहरमा फालेकी थिइन्।

मोरङ प्रहरी डीएसपी कोपिला चुँडालका अनुसार वृद्धाको कानका मुन्द्री सीताको घरभित्र खाल्डो खनेर गाडिएको अवस्थामा भेटिएको छ। ‘घटनास्थल र भेटिएको प्रमाणले वृद्धाको सुन लुट्नकै लागि हत्या भएको पुष्टि गर्छ। वृद्धाको लुगा पनि घरमै फेला परेका छन्।’– चुँडालले भनिन्।

वृद्धाको शव विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ। प्रहरीका अनुसार मृतक वृद्धाको मानसिक सन्तुलन कमजोर रहेको प्रारम्भिक विवरणले देखाएको छ। वृद्धाका परिवारले सीता ऋषिदेवविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिएका छन्।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरी अनुसन्धानले घटनाको मूल कारण सुनको लोभ नै भएको देखाएको छ। छोरीले ज्यान जोगाउने प्रयास गरे पनि आमाले हत्या गरेकी पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *