फेयरवेल कार्यक्रममा आरजुसँग हात नमिलाएर बाणिले लिइन् ‘बदला’, सामाजिक सञ्जालमा बहस

काठमाडौँ — पत्रकार दिलभुषण पाठक र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको परिवारबीच चलिरहेको विवाद अहिले नयाँ मोडमा पुगेको छ।

पाठककी छोरी वाणिविलास पाठकको विद्यालयमा आयोजित एक कार्यक्रमको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

शनिबार काठमाडौंको युलियन्स स्कुलमा आयोजित आइबीडीपी (International Baccalaureate Diploma Program- IBDP) कक्षा २०२५ को फेयरवेल कार्यक्रममा वाणिविलासले अन्य सहभागीहरूसँग हात मिलाइन्, तर विद्यालयको लगानीकर्तासमेत रहेकी कार्यक्रमकी प्रमुख अतिथि परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भने हात नमिलाएको दृश्य अहिले सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ।

कतिपयले यो व्यवहारलाई ‘बाणिले बाबुलाई परेको पीडाको बदला लिइन्’ भनेर व्याख्या गरिरहेका छन् भने केहीले ‘सामान्य संयोग’ मात्र भएको प्रतिक्रिया दिएका छन्।

पत्रकार पाठकले आफ्नो पोडकास्टमार्फत कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री राणाका छोरा जयवीर देउवाले हिल्टन होटल खरिद गरेको दाबी गरेका थिए। तर, पोडकास्टमा खरिद मिति, मूल्य र स्रोतसम्बन्धी प्रमाण नदिएको भन्दै जयवीरले साइबर ब्युरोमा उजुरी दिए।

त्यसपछि काठमाडौं जिल्ला अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। हाल पाठक सार्वजनिक रूपमा देखिएका छैनन्। उनको पक्षमा पत्रकारहरू सक्रिय भइरहेका छन्। शुक्रबार र शनिबार नगरकोटमा करिब ३५ जना सम्पादकहरू भेला भई पाठकको सम्भावित गिरफ्तारी रोक्न रणनीति बनाएको खुलासा भएको छ।

यता, पाठकले चलाएको पोडकास्ट प्रेस काउन्सिलमा दर्ता नभएको हुँदा उनी प्रेस काउन्सिलको औपचारिक संरक्षण पाउनबाट बञ्चित भएका छन्। यद्यपि, उनले काउन्सिललाई इमेलमार्फत सहयोगको आग्रह गरिसकेका छन्।

यदि पोडकास्ट काउन्सिलमा दर्ता भएको भए प्रेस स्वतन्त्रताको पक्षमा काउन्सिल उभिन सक्ने थियो। तर, दर्ता नभएकै कारण हालसम्म काउन्सिल मौन रहेको छ। यसबीच, काउन्सिलमा अध्यक्ष पद पनि रिक्त छ, जसले थप जटिलता ल्याएको छ।

सामाजिक सञ्जालमा बहस
पाठककी छोरी वाणिविलासको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा विभाजित बहस चलिरहेको छ। कतिपयले बाबुको पक्षमा प्रतिरोध देखाएको भनेर समर्थन गरिरहेका छन् भने केहीले सार्वजनिक कार्यक्रममा शिष्टाचार नदेखाएको भन्दै आलोचना गरिरहेका छन्।

हालसम्म जयवीर देउवा, दिलभुषण पाठक र आरजु राणा देउवा पक्षबाट औपचारिक प्रतिक्रिया आएको छैन। तर यो विवाद राजनीतिक, कानुनी र व्यक्तिगत तीनै तहमा फैलिदै गएको देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट