१६ दिनअघि सुत्केरी भएकी युवती घरअगाडिको नालामा मृत फेला, शिशु सकुशल

काठमाडौँ– कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा १६ दिनअघि मात्र सुत्केरी भएकी एक महिला घरअगाडिको नालामा मृत अवस्थामा फेला परेकी छन्।
शुक्रबार बिहान १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत अवस्थामा भेटिएकी हुन्। नाथको शव घरको मूल गेट अगाडिको नालामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ। अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको टोली घटनास्थलमै खटिएको छ।
मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दले मृतक सुत्केरी अवस्थामा रहेकी पुष्टि गरे। उनका अनुसार मृतकको १६ दिनको नवजात शिशु भने सामान्य अवस्थामा भेटिएको छ।
शव भेटिएको स्थान सिल गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। मृत्युको कारण अहिल्यै भन्न सकिने अवस्था नरहेको र विस्तृत अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले बताएको छ।