जनमत पार्टीमा ‘परिवारवाद’को आरोप, उपाध्यक्ष चयनप्रति गम्भीर असन्तुष्टि

राजधानी — डा. सीके राउत नेतृत्वको जनमत पार्टीभित्र नेतृत्व चयनलाई लिएर गहिरो असन्तुष्टि देखिएको छ। पार्टीका स्थायी समिति सदस्य दीपक कुमार साहले बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष सीके राउतमाथि ‘परिवारवाद’लाई संस्थागत गरेको आरोप लगाएका छन्।
अध्यक्ष राउतले आफ्ना दाजु डा. जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्षमा मनोनयन गरेपछि साहले यस निर्णयलाई ‘संस्थागत राजनीतिका लागि घातक’ भन्दै आपत्ति जनाएका छन्। उनले विगतमा पनि बबिता कुमारी राउतलाई उपसभामुख पदमा मनोनीत गरिएको उदाहरण दिँदै ‘पारिवारिक प्राथमिकता र शक्ति केन्द्रित गर्ने प्रवृत्तिले पार्टीभित्र गम्भीर असन्तुलन र निराशा पैदा गरेको’ भनेका छन्।
विज्ञप्तिमा पार्टी संघर्ष र निर्माणमा योगदान दिने नेताहरू—कबिन्द्र यादव, सुरेन्द्र नारायण यादवजस्ता समर्पित कार्यकर्तालाई उपेक्षा गरिएको उल्लेख छ। साहका अनुसार अध्यक्ष राउतका दाजु जयकान्त राउतलाई अघिल्लो कार्यकालमा सांसदका उम्मेदवारदेखि योजना आयोगको सदस्य, राष्ट्रिय परिषदको अध्यक्ष र संगठन विभाग प्रमुखजस्ता जिम्मेवारी समेत दिइएको थियो।
त्यस्तै, पार्टीका अर्का उपाध्यक्ष नरेन्द्र चौधरीका दाजु दानबहादुर चौधरीलाई समेत राष्ट्रिय उपाध्यक्ष नियुक्त गर्नु आपत्तिजनक भएको साहको आरोप छ। विज्ञप्तिमा दाबी गरिए अनुसार दानबहादुर विगतमा अन्य दलसँग आबद्ध रही पार्टीविरोधी गतिविधिमा संलग्न व्यक्ति हुन्।
साहले अध्यक्ष राउतको नेतृत्वशैली र एकल निर्णय प्रक्रियाप्रति कडा असहमति जनाउँदै पार्टीभित्र आत्मसमीक्षा र सुधारको संस्कारको खाँचो औंल्याएका छन्।