उदयपुरमा सामुदायिक वनको आडमा खयरको तस्करीः समुहकै घाटगद्दीमा भेटियो अनाधिकृत काटिएको खयर

रामपुर (उदयपुर) — उदयपुरको बेलका नगरपालिका–८ स्थित हात्तिसार सामुदायिक वन उपभोक्ता समूहले कतिपय कर्मचारीहरुकै मिलेमतोमा ठूलो मात्रामा खयरको काठ कटान गरी अनियमित तरिकाले विक्रि गरेको खुलासा भएको छ।
गत १४ असारमा सव–डिभिजन वन कार्यालय मैनामैनीका कर्मचारीहरूले घाटगद्दी अनुगमन गर्दा सहमति बाहेकको ६६६ थान (४४९.८२ क्यूबिक फिट) खयर काठ फेला पारेपछि अनियमित तरिकाले काठ कटान भएको पुष्टि भएको हो। यस वाहेक पनि थप काठ कटान भएको र अनाधिकृत रुपमा विक्रि गरिएको आशंका गरिएको छ।
यो घट्नापछि डिभिजन वन कार्यालय उदयपुरले अनुसन्धान प्रक्रिया अघि बढाएको स्रोतको दावी छ। कार्यालयले सामुदायिक वन समूहले संकलन सहमति पाएको परिमाणभन्दा सयौं थान खयर जातका काठ बढी संकलन गरी घाटगद्दी गरेको पुष्टि भएपछि सव डिभिजन कार्यालय तपेश्वरीका वन अधिकृत राजेन्द्र प्रसाद यादवलाई अनुशन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको स्रोतले बताएको छ।
‘… को कसले उक्त काठ हानी नोक्सानी गरे/गराएको हो? सो सम्बन्धमा आवश्यक अनुसन्धान तहकिकात गरी सम्वन्धित निकायमा मुद्दा दायरीका लागि संघ, प्रदेश र स्थानीय तह (समन्वय अन्तरसम्वन्ध) ऐन, २०७७ को दफा ९ (१) बमोजिम गर्नु होला’ भन्दै अनुशन्धान अधिकृतलाई निर्देशन दिईएको छ।
निमित्त डिभिजनल वन अधिकृत रामभगत यादवले पनि समुहको घाटगद्दी अनुगमन गर्दा कटान अनुमति दिएभन्दा वढि काठ बरामद भएकाले अनुशन्धान थालिएको वताए। ‘चोर तस्कर भन्दा पनि समुहको घाटगद्दीबाटै काठ बरामद भएकाले अनुशन्धान अघि वढाएका छौं। थप कुरा अनुशन्धान प्रतिवेदनका आधारण्मा अघि वढ्छ’– उनले भने।
यादवका अनुसार वन कार्यालयले उक्त समुहलाई ११४१ दशमलव ४६ क्यूफिट साल, ११०१ दशमलव ७४ क्यूफिट खयर र ६१५ दशमलव ३५ क्यूफिट अन्य जातको काठ कटानका लागि सहमति दिएको थियो। घाटगद्दि अनुगमनका क्रममा त्यो वाहेकको ४४९ दशमलव ८२ क्यूबिक फिट खयरको काठ बरामद भएको उनको भनाई छ।