गाँजा तस्करी आरोपमा पक्राउ परेका बुधन मण्डलका भाइ अखिलेश मण्डल पनि भारतमा गाँजासहित पक्राउ

भारदह (सप्तरी)— होटल व्यवसायको आवरणमा गाँजा तस्करी गरेको आरोपमा गत असार १ गते बुधन मण्डललाई सप्तरी प्रहरीले पक्राउ गरेपछि चासोको विषय बनेको यस प्रकरणमा नयाँ मोड आएको छ।
बुधन मण्डलका सहोदर भाइ अखिलेश मण्डल भारतको बिहार राज्यमा १८० किलो गाँजासहित पक्राउ परेका छन्। भारतीय राज्य बिहारको मधुबनी नजिकै प्रहरीको विशेष टोलीले नेपालका दुई र एक भारतीय नागरिकलाई कारमा राखेको गाँजासहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा अखिलेश मण्डल, उनका काकाका छोरा राजेन्द्र मण्डल, र भारतीय नागरिक दशरथ सिंह छन्। घटनाबारे पुष्टि गर्दै बिहार प्रहरीका एसपी शरद आरएसले पक्राउको विवरण सार्वजनिक गरेका हुन्।
यसअघि बुधन मण्डल पक्राउ परेपछि, उनका भाइ अखिलेशले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै बुधन निर्दोष रहेको दाबी गरेका थिए। उनले उक्त भिडियोमा सप्तरी प्रहरीले उनीहरूको होटलबाट रकम उठाउने गरेको आरोप पनि लगाएका थिए। सो भिडियोमा त्यतिबेला सप्तरीका एसपी रहेका ढकेन्द्र खतिवडाको नाम मुछिएपछि प्रहरी संगठनले उनलाई अनुसन्धानको दायरामा समेत ल्याएको थियो।
तर, आफैंले ‘निर्दोष’ भन्दै प्रचार गरेका आफ्ना दाजु बुधन जस्तै अखिलेश मण्डल पनि अब ठूलो परिमाणको गाँजासहित पक्राउ परेपछि सामाजिक सञ्जालमा उठाइएको पूर्व दाबीप्रति गम्भीर प्रश्न उठेको छ।
प्रहरी तथ्यांकअनुसार, बुधन मण्डलमाथि ०७७÷७८ मा लागुऔषध गाँजा तस्करीको मुद्दामा एक वर्ष नौ महिना दुई दिन कैद र १५ हजार रुपैयाँ जरिवाना गरिएको थियो। उनी त्यस फैसलापछि फरार रहँदै आएका थिए। यसअघि पनि ०७१/७२ मा लागुऔषध मुद्दामा कैद सजाय भोगिसकेका थिए भने, ०८०/८१ मा ब्राउन सुगर मुद्दामा १० हजार जरिवाना तिराइएको प्रहरीले जनाएको छ।
नेपालमा गाँजा कारोबारमा संलग्न रहँदै आएको यो मण्डल परिवारको जालो अहिले भारतमा समेत फैलिएको देखिएको छ। बुधनको संरक्षण र गिरफ्तारीको कथाले राजनीतिक तथा प्रहरी वृत्तमा तहल्का मच्चाएको बेला, उनका भाइ समेत ठूला परिमाणमा गाँजासहित पक्राउ पर्नु, उनीहरूको संलग्नता एक सशक्त संगठित गिरोहजस्तो देखिन थालेको छ।
भारत र नेपाल दुबै तर्फबाट अनुसन्धान सुरु भइसकेको र गिरोहको अन्य सदस्यहरू पनि निगरानीमा रहेको बताइएको छ।