धरानमा घरायसी विवादका क्रममा श्रीमानमाथि श्रीमतीद्वारा छुरा प्रहार

इटहरी — सुनसरीको धरान उपमहानगरपालिका–१७, साउनेमा घरायसी विवादका क्रममा एक महिलाले आफ्नै श्रीमानमाथि छुरा प्रहार गरेकी छिन्। ३१ वर्षीया सरिता राईले आफ्ना ५० वर्षीय श्रीमान वीरबहादुर राईमाथि तरकारी काट्ने छुरा प्रयोग गरी आक्रमण गरेकी हुन्।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार छुरा प्रहारबाट राईको दाहिने हातको पञ्जा, छाती र पेटमा चोट लागेको छ। गम्भीर घाइते अवस्थाका राईलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट करिब ३ किलोमिटर पश्चिममा रहेकी सरिता राईलाई नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, घटनाको मूल कारण घरायसी विवाद नै भएको देखिएको छ। यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार घटना भएको स्थान धरान रेल्वे नजिकको साउने बस्ती क्षेत्र हो, उनीहरुको परिवारमा पहिलेदेखि नै विवाद चलिरहेको बताइएको छ।