झारफुकको बहानामा नाबालिकामाथि यौन दुर्व्यवहार गर्ने अभियुक्त ३० हजार धरौटीमा रिहा

विराटनगर — झारफुकको बहानामा १५ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्ने मोरङको विराटनगरका एक अभियुक्तलाई अदालतले धरौटीमा रिहा गरेको छ।
धार्मिक विश्वास र झारफुकको नाममा बालिकामाथि बारम्बार यौन दुर्व्यवहार गरेको अभियोग लागेका विराटनगर–६ का ३५ वर्षीय मोहम्मद साबिरलाई जिल्ला अदालत मोरङले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
असार ५ गते बाल यौन दुर्व्यवहारसम्बन्धी कसुरमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गरेको थियो। त्यसको भोलिपल्ट (असार ६ गते) न्यायाधीश उद्दव भट्टराईको इजलासबाट साबिरलाई धरौटीमा छोड्न आदेश दिइएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
प्रहरीका अनुसार, पीडित बालिकालाई झारफुक गर्ने नाममा बारम्बार रातको समयमा बोलाउने, एक्लै कोठामा राख्ने, र राति १० बजेपछि मात्र झारफुक गर्ने भन्दै दुर्व्यवहार गरिँदै आएको थियो। बालिकाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानपछि प्रहरीले आरोपी साबिरलाई नियन्त्रणमा लिएर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत बाल यौन दुर्व्यवहार अन्तर्गत मुद्दा चलाएको हो।
बाल यौनदुराचारजस्तो गम्भीर आरोपमा पक्राउ परेका अभियुक्तलाई अदालतले कम धरौटीमा रिहा गरेकोमा बाल अधिकारकर्मी तथा सामाजिक कार्यकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार, यस्तो निर्णयले नबालिग बालबालिकामाथिको हिंसालाई गम्भीरतापूर्वक नलिएको सन्देश दिन सक्छ।
यस घटनाले धार्मिक विश्वास, अन्धविश्वास र झारफुकको नाममा भइरहेको बाल यौन शोषणको रूप लिएर आइरहेका गम्भीर सामाजिक समस्यालाई उजागर गरेको छ।