सिरहामा गोली हानेर पक्राउ गरिएका मध्ये ५ जना सप्तरीका, एक जना हत्या अभियुक्त
राजविराज– सिरहाको लहानमा खैरो हेरोइन कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीको गोली लागेर पक्राउ परेका ६ जनामध्ये एक जना सप्तरीका हत्या अभियोगमा दोषी ठहर भई २५ वर्ष कैद सजाय भुक्तान गरिरहेका फरार कैदी रहेको खुलेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार झुम्का कारागारबाट जेनजी आन्दोलनका क्रममा फरार भएका मो. नसिर पुनः लागुऔषध कारोबारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि घटनाले नयाँ मोड लिएको छ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले बिहीबार सिरहाको लहान नगरपालिका–३, हस्पिटल चोक क्षेत्रमा विशेष सूचनाका आधारमा छापा मारेर खैरो हेरोइन कारोबारमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार नियन्त्रणको क्रममा आरोपितहरूले प्रहरीमाथि नै आक्रमण गर्ने प्रयास गरेपछि अवस्था नियन्त्रणमा लिन सुरुमा पाँच राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि अटेर गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको ब्युरोको भनाइ छ।
घटनामा सप्तरीको रुपनी गाउँपालिका–१ निवासी ४० वर्षीय मो. नसिरको बायाँ खुट्टामा र भारतका २२ वर्षीय विद्यानन्द यादवको दायाँ खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। दुवै जनाको उपचार भइरहेको छ।
प्रहरीले भारतीय नागरिक विद्यानन्द यादवसहित सप्तरीको रुपनी गाउँपालिका–१ का मो. नसिर, बादेबरसाइन नगरपालिका–२ का २८ वर्षीय शम्भुप्रसाद यादव, डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय मो. जमाहिर आलम, सोही स्थानका ३२ वर्षीय मो. इमामुदिन तथा बादेबरसाइन नगरपालिका–२ का २४ वर्षीय वैधनाथप्रसाद यादवलाई नियन्त्रणमा लिएको छ।
ब्युरोका अनुसार पक्राउ परेकाहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद गरिएको छ। बरामद लागुऔषध, पक्राउ परेका व्यक्तिहरूको आपराधिक पृष्ठभूमि तथा सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी सुवासचन्द्र बोहोराका अनुसार पक्राउ परेका मो. नसिर सप्तरीमा भएको एक व्यक्तिको हत्या मुद्दामा दोषी ठहर भई २५ वर्ष कैद सजाय भुक्तान गरिरहेका व्यक्ति हुन्। उनी सुनसरीस्थित झुम्का कारागारमा सजाय काटिरहेका बेला जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार कारागारबाट फरार भएपछि नसिर लागुऔषध कारोबारमा संलग्न हुँदै आएको आशंका गरिएको छ। पक्राउ परेका अन्य व्यक्तिहरूको आपराधिक संलग्नता, सीमापार लागुऔषध सञ्जालसँगको सम्बन्ध तथा बरामद खैरो हेरोइनको स्रोतबारे समेत अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

