उत्तराखण्डको उत्तरकाशीमा भीषण बाढीः ५० सर्वसाधारण र १० सैनिक बेपत्ता, ४ को मृत्यु

राजधानी– भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा मंगलबार दिउँसो आएको भीषण बाढीका कारण कम्तीमा ५० सर्वसाधारण र १० जना भारतीय सैनिक बेपत्ता भएका छन्। चार जनाको मृत्यु पुष्टि भएको छ।

स्थानीय समय अनुसार दिउँसो पौने २ बजे उत्तरकाशीको धराली गाउँमा बाढी आएको हो। यो स्थान हर्षिलस्थित भारतीय सेनाको क्याम्पभन्दा करिब ४ किलोमिटर टाढा पर्छ। बाढी आउँदा धराली गाउँमा रहेका स्थानीयवासी र पर्यटक गरी करिब २ सय जना व्यक्ति प्रभावित भएका थिए।

बाढीले धरालीका बजार, घर र होटलहरूमा ठूलो क्षति पुर्‍याएको छ। एक प्रत्यक्षदर्शीले भारतीय सञ्चारमाध्यमसँग भने, ‘होटलदेखि बजारसम्म सबै तबाह भएको छ, यस्तो विनाशकारी घटना मैले कहिल्यै देखेको थिइनँ।’

बाढीको कारण गंगोत्री धामसँगको सम्पूर्ण सडक सम्पर्क विच्छेद भएको छ। हिमपात र वर्षापछि आएको बाढीले धरालीसँगै हर्षिल क्षेत्रमा बनाइएको हेलिप्याड समेत बगाएको भारतीय सेनाले जनाएको छ। हेलिप्याड नष्ट भएपछि हेलिकप्टरबाट उद्धार कार्य प्रभावित भएको छ।

घटनाको समयमा धराली गाउँको दायाँपट्टि बाढीको चपेटामा परेको छ भने बायाँपट्टि हर्षिलस्थित सेनाको क्याम्प समेत प्रभावित भएको छ। बाढीका कारण भारतीय सेनाको १४ राजरिफ यूनिटबाट खटिएका १० जना जवान र एक जेसीओ (जुनियर कमिसन्ड अफिसर) बेपत्ता छन्। एक जना सैनिक अधिकृत घाइते भएका छन्।

यद्यपि बाढीबाट आक्रान्त भए पनि सेनाको १४ राजरिफ यूनिटका कमाण्डिङ अफिसरसहितका टोलीहरूले तुरुन्तै उद्धार कार्य सुरु गरेका छन्। प्रारम्भिक प्रयासमा करिब १५ जनालाई उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

धराली गाउँसम्म पुग्ने मुख्य सडक मार्ग नेतलाबाट अवरुद्ध भएको छ। उत्तरकाशीदेखि १८ किलोमिटर टाढा पर्ने नेतलाबाट भूस्खलनका कारण धरालीसम्म जान सकिएको छैन। यद्यपि एसडीआरएफ, एनडीआरएफ, भारतीय सेना र अन्य उद्धार टोलीहरूले सबैभन्दा प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य तीव्र रूपमा अगाडि बढाइरहेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित क्षेत्रमा सबै प्रकारको सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। केन्द्र सरकार र राज्य सरकारबीच समन्वयमा राहत र उद्धार कार्य तीव्र पारिएको भारतीय गृहमन्त्रालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट