बलान नदीमा डुबेर बेपत्ता भएका १४ वर्षीय बालक २४ घण्टापछि मृत फेला

राजविराज— सप्तरी र सिरहाको सीमामा पर्ने बलान नदीमा सोमबार डुबेर बेपत्ता भएका १४ वर्षीय बालकको २४ घण्टा भन्दा लामो समयपछि मंगलबार बिहान मृत फेला परेका छन।
मृतक सखुवानन्कारकट्टी गाउँपालिका–३ परियारपुरका शिवकुमार यादवका छोरा घनश्याम यादव हुन्। हुलाकी राजमार्गअन्तर्गत बलान नदीको पुल छेउमा सोमबार बिहान नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका थिए।
इलाका प्रहरी कार्यालय लहानका डीएसपी कैलाश राईका अनुसार घनश्याम सोमबार बिहान खेल्दै नदीमा पुगेका थिए। करिब १० बजे नुहाउने क्रममा डुबेर हराएका उनको बारेमा करिब दुई घण्टापछि मात्रै प्रहरीलाई जानकारी गराइएको थियो।
त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजतलास थाले पनि सोमबार दिनभर फेला पार्न सकेका थिएनन्।
मंगलबार बिहान बर्दिबासबाट आएको गोताखोर टोलीले करिब साढे ११ बजे पुलभन्दा करिब ५० मिटर दक्षिणतर्फ घनश्यामको शव नदीभित्र डुबिरहेको अवस्थामा फेला पारेको हो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।