चीन भ्रमणपछि रेकर्डतोड छोटो भारत भ्रमण गर्दै प्रधानमन्त्री ओली

राजधानी— प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। उनले आगामी १५ र १६ अगस्तमा बेइजिङमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिएर फर्किएपछि भारत भ्रमणमा जाने तयारी सुरु भएको हो।

प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ गतेबाट हुने देखिएको छ। भ्रमण तयारीबारे छलफल गर्न भारतीय विदेश सचिव विक्रम मिश्री आगामी आइतबार काठमाडौं आउने कार्यक्रम तय भएको छ। यो भ्रमण ओलीको प्रधानमन्त्री बनेको १४ महिनापछि हुन लागेको पहिलो औपचारिक भारत भ्रमण हो। यसमा विगतका केही परम्परा तोडिने सम्भावना छ।

परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार, यस पटक भ्रमण दुई दिनको मात्र हुने सम्भावना छ। प्रधानमन्त्री ओली ३१ भदौमा भारत प्रस्थान गर्नेछन् भने १ असोजमा काठमाडौं फर्किने तयारी छ। यदि यो समयतालिका कायम रह्यो भने, नेपालका विगतका प्रधानमन्त्रीहरूको भारत भ्रमणको हिसाबमा यो सबैभन्दा छोटो औपचारिक भ्रमण बन्नेछ।

ओली–मोदी भेटमा पनि केही परम्परा तोडिने देखिन्छ। स्रोतका अनुसार, यसपटक भारतको बोधगयामा भेटवार्ता हुने सम्भावना छ। बोधगया हिन्दू र बौद्ध धर्मावलम्बीका लागि ऐतिहासिक स्थल हो, जहाँ गौतम बुद्धले ज्ञान प्राप्त गरेको विश्वास गरिएको छ।

सामान्यतया भारतीय प्रधानमन्त्रीले नेपाली समकक्षीसँग नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता गर्ने परम्परा रहँदै आएको छ। तर यस पटक बिहारको बोधगयालाई भेटवार्ता स्थलको रूपमा रोजिएको छ, जसले दुई देशबीचको सम्बन्ध र सांस्कृतिक÷धार्मिक सम्वन्धलाई अझ जोड्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार यस भ्रमणमा ठूला एजेन्डाहरूमा प्रवेश हुने सम्भावना कम छ। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका अन्य विवरण खुलिसकेको छैन। भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आएपछि भ्रमणका विषयमा विस्तृत छलफल गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट