‘प्रेमी बोलाइदेऊ, नत्र झर्दिनँ’ भन्दै टेलिफोन टावरको टुप्पोमा चढिन् युवती, डुडुवामा तनाव

रुपन्देही– आफ्ना प्रेमीलाई बोलाई दिन माग गर्दै बाँकेको डुडुवा गाउँपालिकामा एक युवती मोबाइल टावरमा चढेपछि स्थानीय क्षेत्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ। आफूले मन पराएको युवकलाई घटनास्थलमा बोलाइदिनुपर्ने माग राख्दै ती युवती टावरमाथि चढेकी हुन।

डुडुवा गाउँपालिका–२ जाफरपुरवाकी १८ वर्षीया ती युवती बिहानै स्थानीय क्षेत्रमा रहेको अग्लो मोबाइल टावरमा चढेकी थिइन्। प्रत्यक्षदर्शीका अनुसार उनले आफ्नो प्रेमीलाई बोलाइदिन आग्रह गर्दै, प्रेमीसँग भेट नभएसम्म तल नझर्ने अडान लिएकी थिइन्।

घटनापछि टावर आसपास ठूलो संख्यामा स्थानीयवासी भेला भएका थिए। आफन्त र स्थानीयले पटक–पटक सम्झाउने प्रयास गरे पनि युवती टावरबाट झर्न नमानेपछि प्रहरीलाई खबर गरिएको थियो।

स्थानीयका अनुसार युवती लामो समयसम्म टावरमाथि नै बसेपछि स्थिति जटिल बन्न थालेको थियो। ‘उहाँलाई धेरै सम्झायौँ, तल झर्न आग्रह ग¥यौँ तर मान्नुभएन,’ स्थानीयले भने, ‘प्रेमीलाई बोलाउनुपर्छ, नत्र म झर्दिन भन्ने अडान लिनुभएको थियो। त्यसपछि प्रहरी बोलाउनुप¥यो।’

सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेबाट टोली घटनास्थल पुगेको थियो। प्रहरीले स्थानीय र आफन्तसँग समन्वय गरेर युवतीलाई सुरक्षित रूपमा तल झारिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी जीवराज थापाले युवतीलाई सम्झाइ–बुझाइ गरेर उद्धार गरिएको जानकारी दिए।

उनका अनुसार घटनापछि युवतीको स्वास्थ्य अवस्था र मानसिक अवस्थालाई ध्यानमा राख्दै उपचारका लागि अस्पताल पठाइएको छ। ‘स्थानीयबाट खबर आएपछि प्रहरी टोली पुगेको हो,’ थापाले भने, ‘प्रेमीसँग भेट गराइदिनुपर्ने माग राख्दै टावरमा चढेको बुझिएको छ। अहिले उहाँलाई सुरक्षित रूपमा अस्पतालमा राखिएको छ।’

प्रहरीका अनुसार युवतीले प्रेमीले आफूलाई बेवास्ता गरेको गुनासो स्थानीयसँग व्यक्त गरेकी थिइन्। उनले केही दिनदेखि मानसिक तनावमा रहेको संकेतसमेत स्थानीयले दिएका छन्। यद्यपि घटनाको थप कारण र पारिवारिक पृष्ठभूमिबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाले केही समय डुडुवा क्षेत्रमा त्रास र कौतुहल दुवै सिर्जना गरेको थियो। अग्लो टावरमा युवती बसेको दृश्य हेर्न स्थानीयको भीडसमेत लागेको थियो। प्रहरी र स्थानीयको संयुक्त प्रयासपछि भने सम्भावित अप्रिय घटना टरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट