रवि लामिछानेको कारागारबाट रिहाइ विवादमा सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी छोडेको खुलासा

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा लामो समयदेखि असन्तुष्ट रहेकी नेता सुमना श्रेष्ठले अन्ततः आईतबार अचानक पार्टी छोड्ने निर्णय गरिन। स्रोतका अनुसार उनको यो निर्णयमा जेनजी आन्दोलनको नाममा कारागारबाट रिहा भएका सभापति रवि लामिछानेसँग सम्बन्धित विवाद मुख्य कारण बनेको छ।
जेनजी आन्दोलनको क्रममा सभापति लामिछाने कारागारबाट बाहिर निस्केका थिए। कारागार बाहिर उनलाई समर्थन गर्न पुगेका कार्यकर्ताहरुले दबाब सिर्जना गरेपछि रिहाइ सम्भव भएको थियो। यस क्रममा रविलाई एक पत्र दिइएको थियो, जुन पछि पार्टीभित्र विवादको विषय बन्यो।
रविको कारागारबाट निस्किएको विजयी र उत्साहित भावलाई पार्टीका थुप्रै नेताहरुले सहज रूपमा लिन सकेनन्। कारबाट रुफटपमा उभिएर हात हल्लाउँदै समर्थकहरुसँग अभिनन्दन गर्न पुगेको रविको व्यवहारले पार्टीभित्र असन्तोष थप्यो। केही नेताहरुले सामाजिक सञ्जालमा ‘टाइगर इज ब्याक’ लेख्दै अनावश्यक गर्जन गरे, जसले असन्तुष्टि झन् बढायो।
स्रोतका अनुसार, प्रवक्ता मनिष झाले पनि पार्टीको ह्वाट्सएप समूहमा रविको कारागारबाट निस्कनुको तरिका सही नभएको बताएका थिए। उनका अनुसार, ‘भिड जम्मा गर्नु, रेस्टुरेन्टको बरन्डामा रोकिनु, र सनरुफ भएका गाडीको प्रतीक्षा गर्नु सबै गलत थियो।’
केन्द्रीय सदस्य गणेश कार्कीले भने रविले प्रशासनबाट लिएको पत्रको भाषा र भाव वैधानिक नभएको बताएका थिए। भर्चुअल बैठकमा यस विषयमा तीव्र वादविवाद भएको थियो। सुमना श्रेष्ठले रविको कारागारबाट मौका छोपेर निस्कनु गलत भएको तर्क गर्दै, त्यसमा संलग्न नेताहरुले गल्ती स्वीकार गर्नुपर्ने माग गरेकी थिइन्। तर रविनिकट नेताहरुले कडा प्रतिवाद गरेका थिए।
स्रोतका अनुसार, हरि ढकालले सुमनासँग ‘बाघको छालामा स्यालका रजाईं’ भन्ने शब्द प्रयोग गर्दै विवाद बढाएका थिए। ‘रवि लामिछानेकै कारण सांसद बनेकाहरुले आफ्नो हैसियत बिर्सिनु हुँदैन,’ ढकालले भनेका थिए। यस्तो घटनापछि सुमना आक्रोशित भइन् र पार्टीमा बस्न असहज महसुस गरिन्।
सुमनाले पार्टी छोड्ने संकेत रविलाई पहिले नै दिएको देखिन्छ। कारागारबाट निस्किनुअघि रविले लेखेको स्टाटसमा स्पष्ट थियो कि पार्टीका केही नेताप्रति असन्तोष छ, तर कसैको नाम उल्लेख गरिएको थिएन। उनका शब्दमा, ‘आफ्नै पार्टी परिवारभित्र साथीहरूप्रति मेरो कुनै गुनासो छैन। म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु। रवि लामिछाने तपाईंको कुनै पनि यात्राको बाधक होइन। रास्वपा कुनै पनि साथीको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमा खुशी छु।’
स्रोतका अनुसार रास्वपाभित्र केही अन्य नेताहरु पनि बढ्दो असन्तुष्टिमा छन्, तर उनीहरु अझै खुल्न सकेका छैनन्। केही नेताहरु पर्ख र हेरको स्थितिमा रहेको जानकारी पनि प्राप्त भएको छ।