सिरहाको कल्याणपुरमा आन्दोलनको नाममा लुटपाटः वडाध्यक्ष नै संलग्न रहेको खुल्दै

लहान— जेन–जी आन्दोलनको नाममा उठेका युवाहरूले न्याय र परिवर्तनको नारा लगाइरहेका बेला सिरहाको कल्याणपुरमा भने आन्दोलनलाई ‘राजनीतिक हिसाबकिताब’ मिलाउने साधन र लुटपातको माध्यम बनाइएको तथ्य उजागर भएको छ।
२४ भदौको बिहान करिब ४०–५० जनाको भिड कल्याणपुर नगरपालिकामा पसेर कागजातदेखि कुर्सी–टेबलसम्म लुटपाट, तोडफोड र आगजनीमा उत्रियो। नगरपालिकाको ट्याक्टर, जेनेरेटर, कम्प्युटर, सोफा र अन्य सम्पत्ति जलाइएका छन्। नगरपालिकाले करिब दुई करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको जनाएको छ।
तर, यस क्षतिबाट बढी ठूलो प्रश्न भने स्थानीय राजनीतिमा खडा भएको छ। प्रत्यक्षदर्शी र भिडियोहरूले सो दिनको लुटपाट, तोडफोड र विध्वंशमा जनप्रतिनिधिनै संलग्न रहेको पुष्टि गरेका छन्। कल्याणपुर–९ का वडाध्यक्ष विनोदकुमार यादवले भिडलाई अगाडि बढाइरहेको दृश्य सार्वजनिक भएका छन्। प्रत्यक्षदर्शी धनुष मण्डल भन्छन्, ‘आगो लगाउन पेट्रोल किन्न पैसा पनि उनले नै दिएको सुनियो। प्रहरीले रोके पनि भिडलाई उक्साइयो, क्षणभरमै नगरपालिकाको स्वरूप बदलियो।’
यो घटना कुनै सामान्य ‘भीड नियन्त्रणमा असफलता’ मात्र होइन। यसअघि घुस प्रकरणमा निलम्बित भएका मेयर रामपुकार साहका निकट मानिने वडाध्यक्ष यादवले लामो समयदेखि नगरपालिकामा विवाद निम्त्याउँदै आएको कार्यवाहक नगरप्रमुख रेखा देवी यादवको आरोप छ। उनको भनाइमा, ‘आन्दोलनको माहोललाई उनले आफ्ना स्वार्थका लागि प्रयोग गरे।’
नगरपालिकामा भएको क्षति मात्रै होइन, सोही भिडले वडा ११ को कार्यालय र इलाका प्रहरी कार्यालय, कल्याणपुरमासमेत आक्रमण गरेको तथ्य पनि बाहिर आएको छ। वडाध्यक्ष प्रमेश्वर साह भन्छन्, ‘जनप्रतिनिधि भएर यस्तो गर्नु अक्षम्य काम हो। यो व्यक्तिगत रिसईवी लुकाएर गरिएको राजनीति हो, जसको जति निन्दा गरे पनि कम हुन्छ।’
वडाध्यक्ष यादवले भने संलग्नता अस्विकार गर्दै आफू ‘घटना हेर्न मात्रै पुगेको’ दाबी गरेका छन्। तर भिडियो, प्रत्यक्षदर्शी र उनको विगतको गतिविधिले दाबीलाई कमजोर बनाइदिएको प्रहरी स्रोतहरू बताउँछन्।
आन्दोलनको नाममा सिरहामा मात्रै तीन दर्जनभन्दा बढी सरकारी कार्यालयमा आक्रमण भएको प्रहरी तथ्याङ्कले देखाउँछ। तर, कल्याणपुरको घटना भने अलग छ—जहाँ आन्दोलनले जन्माएको अराजकतालाई राजनीतिक प्रतिशोध र व्यक्तिगत अवसरसँग गाँसिएको छ।
प्रहरीले अहिले भिडियो, फोटो र प्रत्यक्षदर्शीको बयानका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरी निरीक्षक धीरज पटेल भन्छन्, ‘घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याउन हामी प्रमाण सङ्कलन गरिरहेका छौं।’
जेन–जी आन्दोलनले देशभरि आशा र शंका दुवै जन्माएको छ। तर, कल्याणपुरको घटनाले एउटा कठोर सत्य देखाएको छ—जहाँ जनआन्दोलनको ‘नारा’ छायामा धकेली व्यक्तिगत स्वार्थ र ‘लुटपाटको राजनीति’ अगाडि देखिएको छ।