कार्यभार सम्हालेको १२ घण्टा नपुग्दै सुदन गुरुङले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

काठमाडौँ– जेनजी आन्दोलनको दबाबमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीविरुद्ध उनले कार्यभार सम्हालेको १२ घण्टा बित्न नपाउँदै राजीनामाको माग सुरु भएको छ। उनलाई प्रधानमन्त्री बनाउन ‘भिटो’ प्रयोग गरेका ‘हामी नेपाल’ नामक एनजीओका अध्यक्ष सुदन गुरुङले नै उनको राजिनामा मागेका हुन।

मध्यराति नै सुदन गुरुङ नेतृत्वको हामी नेपाल समूहका युवाहरू बालुवाटार पुगेका थिए र नयाँ मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै तीव्र नाराबाजी गरेका थिए। प्रधानमन्त्री कार्कीले आइतबार गृह मन्त्रालयमा कानूनी सल्लाहकार ओमप्रकाश अर्याल, अर्थ मन्त्रालयमा पूर्वअर्थसचिव रामेश्वर खनाल र ऊर्जा मन्त्रालयमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्री नियुक्त गरेकी थिइन्।

यिनै नाम सार्वजनिक भएको केही घण्टामै बालुवाटार अगाडि युवाहरू भेला भई ‘प्रधानमन्त्री राजीनामा दे’ र ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाएका हुन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि सुदन गुरुङ स्वयं उपस्थित थिए। सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा उनी भन्दै देखिन्छन्, ‘सबसे पावरफुल नेपाली जनता हो। कसैले हामीलाई रोक्न सक्दैन। जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकाल्न सक्छु। यो ओमप्रकाश लअर ! यसले त्यहाँभित्र बसेर आफैं गृहमन्त्री बन्दै रैछ।’

सुदनले खुलेरै ओमप्रकाश अर्यालको नाम लिएर विरोध जनाए। अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानूनी सल्लाहकारसमेत हुन्। गुरुङ र उनका समर्थकहरूले मन्त्री छनोटमा आफूहरूसँग छलफल नगरी निर्णय गरेको भन्दै आन्दोलन ‘हाइज्याक’ भएको आरोप लगाए।

बालुवाटार अगाडि भएको नाराबाजीमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाका आफन्तहरू पनि उपस्थित थिए। एक महिलाले सुदनलाई रुँदै प्रश्न गरिन– ‘हिजोसम्म हजुरले नै हामीलाई न्याय दिन्छु भन्नुभएको हैन? आज हामीसँगै बसिरहनुभएको छ, हामीले अब कसलाई गुहार्ने?’

त्यसपछि उपस्थित युवाहरू चर्किए। कसैले भने– ‘हाम्रो आन्दोलन किन हाइज्याक गर्न दिनुभयो?’ अर्का युवाले थपे– ‘यो आन्दोलनको नेतृत्वकर्ता हामी हौं, अरूले कब्जा गरेका छन्।’ युवाहरूले ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाइएकोप्रति विशेष असन्तोष देखाए। कोही तातेर भने– ‘सहजकर्ताको रूपमा आएको मान्छे गृहमन्त्री किन खायो?’

युवाहरूको भीडभाडमा सुदन गुरुङमाथि नै प्रश्न उठ्न थाले। कसैले उनलाई चुनौती दिँदै भने– ‘भोलि होइन, अहिले निकाल्नुपर्छ दाइ। किन हाइज्याक गर्न दिनुभयो? अण्डर–२८ भन्दा माथि अब यो देशमा कोही लिडर हुँदैन। बरु तपाईं नै बन्नु गृहमन्त्री, तपाईंमाथि नै होप छ।’

फेरि अर्को स्वर आयो– ‘तपाईँलाई समेत भित्र जान नदिने स्थिति भइसकेछ। यो तपाईँलाई बाइकट हो कि नाटक हो? मन्त्रिपरिषद् नभएको भन्नुभयो, यहाँ त साइन भइसकेछ। यदि नाटक हो भने जनताले कुट्छन् दाइ!’ युवाहरू चारैतिरबाट आक्रोश पोखिरहँदा सुदन गुरुङ मौन देखिए, मुन्टो हल्लाउँदै भिडिओ खिचिरहेका थिए।

प्रधानमन्त्री कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव सुदन गुरुङ समूहकै थियो। गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदा सुदन स्वयं उपस्थित भएर उनको खुट्टा ढोगेका थिए। तर, केही घण्टामै मन्त्री चयनमा असन्तुष्टि देखिँदा यही समूह सडकमा उत्रिएर राजीनामासम्म माग गर्न पुगेको छ।

मध्यरातिको नाराबाजीपछि बालुवाटार परिसरमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। प्रधानमन्त्री कार्कीले भने मन्त्री नियुक्ति बाहेक अन्य निर्णय सार्वजनिक गरेकी छैनन्। तर, कार्यभार सम्हालेको पहिलो दिनमै आफ्नै सिफारिसकर्ताहरूबाट राजीनामाको माग हुनुले उनको राजनीतिक भविष्य प्रारम्भमै संकटमा परेको आभास भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट