श्रीमानलाई घरको खाँबोमा बाँधेर २ महिने सुत्केरीमाथि बलात्कार गर्ने अन्तरे पक्राउ

हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिका–१ मा श्रीमानलाई घरको खाँबोमा बाँधेर दुई महिनाअघि सुत्केरी २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय अन्तरे थिङलाई पक्राउ गरेको छ। बलात्कार पछि अन्तरे फरार थिए।

घटना गत शुक्रबार राति भएको भए पनि स्थानीयवासी र वडाध्यक्ष प्रताप चेपाङले शनिबार मात्र जानकारी पाएपछि पीडितलाई घटनास्थलबाट उद्धार गरेका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार, आरोपी मादक पदार्थ सेवन गरेर नांगै भएर पुगेका थिए।

‘पीडित र उनका श्रीमान् प्रस्टसँग बोल्न नसक्ने रहेछन्,’ डिएसपी अर्यालले भने। घटनाको प्रारम्भिक सोधपुछमा पीडितले बताएअनुसार, थिङले श्रीमानलाई घरको थाम (खाँबो)मा बाँधेर बलात्कार गरेको खुलासा भएको हो।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार, घटनापछि पीडितका श्रीमानले प्रहरी चौकीमा खबर गरेका थिए। पीडित परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएपछि जिल्ला तथा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले आरोपीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

पीडित महिलालाई अहिले हेटौँडास्थित सेफहाउसमा सुरक्षित राखिएको छ। प्रहरीले घटनास्थल सदरमुकामबाट टाढा भएकाले उद्धारमा ढिलाइ भएको बताएको छ। आरोपीसँग थप सोधपुछपछि थप विवरण प्राप्त हुने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट