जेनजी आन्दोलनको आवरणमा धरानमा आगजनी–लुटपाटः पत्रकारसहित १२ जनाविरुद्ध किटानी जाहेरी

धरान — जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते धरानमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूविरुद्ध पूर्वमेयर मनोज मेन्याङबोले किटानी जाहेरी दिएका छन्।

मेन्याङबोले सञ्चालन गर्दै आएको धरान–८ स्थित होटल कञ्चनजंघामा आक्रमण गरी आगजनी र लुटपाट गर्ने समूहविरुद्ध मंगलबार इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको हो। उनका अनुसार आक्रमणकारीहरूले होटलमा रहेको ६ लाख रुपैयाँ नगदसमेत लुटपाट गरेका थिए। उक्त रकम होटल रिनोभेसनका लागि सहकारीबाट लिएको ऋण भएको उनले बताए।

मेन्याङबोका अनुसार, घटनामा संलग्न एक दर्जन व्यक्तिको नाम र विवरण भिडियो, फोटो र प्रत्यक्षदर्शीका आधारमा पहिचान गरी जाहेरीमा समावेश गरिएको छ। संलग्नमध्ये दुई जनाले आत्मसमर्पण गरेका छन्।

आगजनी र तोडफोडमा धरानका पत्रकार विमल शाक्य, मिलन बान्तवा राई र दिपचन्द्र राई (कान्छी)लगायतका नाम बाहिर आएका छन्।

त्यो दिन धरानमा मेन्याङबोको होटल मात्र नभई कांग्रेस, एमाले र माओवादी केन्द्रका पार्टी कार्यालय, भाटभटेनी सुपरमार्केट, एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, प्रदेश सदस्य जयकुमार राई, कार्यपालिका सदस्य सिर्जना नेपाल, कांग्रेस नेता उमेश थापा र सुजेन्द्र तामाङका घरमा समेत आक्रमण, लुटपाट र आगजनी भएको थियो।

भाटभटेनी सुपरमार्केटभित्र ४ जनाको शव जलेको अवस्थामा भेटिएको थियो।

जाहेरी दर्ता भएको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले आत्मसमर्पण गरेका दुई जनालाई नियन्त्रणमा लिइएको र अन्य संलग्नको खोजी जारी रहेको बताए। उनले भने, ‘सबैलाई कानुनी दायरामा ल्याइनेछ।’

धरानका निवर्तमान मेयर तिलक राईले पनि अपराधमा संलग्न सबैलाई पहिचान गरी कारबाही गर्न माग गरेका छन्। यस्तै, स्थानीय राजनीतिक दलहरू र सर्वपक्षीय नागरिक बचाउ अभियानले पीडितलाई उचित क्षतिपूर्ति दिन र घटनामा संलग्न सबैलाई निष्पक्ष छानबिनमार्फत कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट