‘मेयरको घरमा ८० किलो सुन भेटिएको भ्रामक भीडीओले कोशी प्रदेशमा क्षती वढायो’

दमक— जेनजी आन्दोलनका क्रममा २९ लाखभन्दा वढि फलोअर्स भएका युट्युवर भाग्य न्यौपाने र ९ लाखभन्दा वढि फलोअर्स भएका सुजन ढकालले सामाजिक सञ्जालमा फैलाएको भ्रामक भिडिओ र अफवाहका कारण कोशी प्रदेशमा आक्रोश फैलिएको र केही जनप्रतिनिधिका घरमा थप क्षति पुगेको पाइएको छ।

विशेषगरी, कन्काई नगरपालिकाका मेयर राजेन्द्रप्रसाद पोखरेलको घरमा ८० किलो सुन र २ बोरा चाँदी भेटिएको हल्लासहित अपलोड भएको भिडिओले समुदायलाई उत्तेजित पारेको थियो।

स्थानीय स्रोतका अनुसार, भदौ २४ गते न्यौपानेले फेसबुकमा पोस्ट गरेको भिडिओमा उनले मेयर पोखरेलको घरमा ८० किलो सुन भेटिएको र २ बोरा चाँदी भएको प्रचार गरेका थिए। भिडिओ सेल्फी मोडमा खिचिएको थियो, जहाँ अर्का युवा पनि देखिन्थे र भनिरहेका थिए, ‘कन्काईका मेयर ओली निकट छन्, अब नेताको सम्पत्ति खोज्ने बेला आयो। गुड जब जेन्जी, जय जेन्जी।’

यसैगरी, युट्युबर सुजन ढकालले मेयर पोखरेलको घरमा दुई बोरा सुन भेटिएको दाबी गर्दै भिडिओ बनाएका थिए। ‘एकदमै ब्रेकिङ न्युज छ है ! झापाबाट, जुन केपी शर्मा ओलीको क्षेत्र हो, त्यहाँ कन्काईमाईको मेयरको घरबाट थप दुई बोरा सुन पनि भेटिएको छ’ उनले भनेका थिए–‘हो, यो सबै कालो धन अब खोज्नुपर्छ। खोज्नुपर्ने बेला आएको छ। अघि पनि ८० केजी सुन भेटिएको थियो, फेरि अहिले दुई बोरा सुन तिनै मेयरको घरबाट फेला परेको छ है।’

विदेशमा वस्ने गरेका ढकाल झापाका स्थानीय बासिन्दा हुन। प्रदर्शनका क्रममा उनी झापामै थिए। त्यस वेला भाग्य न्यौपाने र ढकाल सँगै देखिएका थिए। यसअघि युट्युबर न्यौपानेले नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निकालेर गृहमन्त्री बनाउनुपर्ने भन्दै उक्साएका थिए।

दुवैको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि आक्रोशित समूहले तत्काल प्रदेशका विभिन्न जिल्लामा जनप्रतिनिधिहरुका घरमा तोडफोड र आगजनी गरेको र मेयर पोखरेल बसोबास गर्ने घरमा पूर्ण क्षति पु¥याएको जनाईएको छ। घरभित्रका सरसमान समेत लुटिएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ।

भाग्य न्यौपानेले भने उक्त ८० किलो सुनको विषयमा प्रष्टिकरण दिँदै स्थानीय मिडियामा समाचार प्रकाशित भएपछि मात्र आफुले भीडीओ बनाएको बताएका छन्। ‘मेरो बारेमा छानबिन गर्न सकिन्छ। म रेडी छु। म युट्युब चलाएर हिँड्ने मान्छे हुँ, देश चलाएर, बजेट चलाएर, भ्रष्टाचार गरेर हिँडेको होइन।’– उनले भनेका छन्।

मेयर पोखरेलले भने घरमा सुन भेटिएको हल्लालाई पूर्ण असत्य ठानेका छन्। उनका अनुसार, भिडिओमा भनिएका ४० तोला, ८० किलो र २ बोरा चाँदीको विवरण हावादारी मात्र हो। ‘घरमा आगजनी हुँदा हाम्रो परिवार त्यहाँ थिएन। त्यसैले त त्यस्तो सुन खोज्नु व्यर्थ थियो। केही व्यक्तिले पैसा दिएर अनर्गल प्रचार गराएका रहेछन्।’– उनले भने।

आफ्नो आर्थिक अवस्था मध्यम रहेको र व्यक्तिगत रूपमा ठूलो सम्पत्ति नभएको उनको भनाई छ। ८० किलो सुन र २ बोरा चाँदीको हल्ला कसरी फैलियो भन्ने विषयमा पनि केही विवरणहरु वाहिर आएका छन्। जेनजी आन्दोलनका दिन एउटा समूह घरभित्र पसेर सामान फाल्दै गरेको देखियो। त्यसपछि सामाजिक सञ्जालमा भिडिओ अपलोड भयो। यसपछि फेसबुकमा अन्यले पनि हल्ला फैलाए, जसलाई युट्युवर न्यौपाने र ढकालले ब्यापक बनाए। अहिले ती सबै भिडियोहरू डिलिट भईसकेका छन्।

झापा प्रहरीका एसपी राजन लिम्बूले पनि ८० किलो सुन भेटिएको हल्लालाई असत्य भनेका छन्। ०७४ सालमा पनि मेयरमा विजयी भएका पोखरले दोस्रोपटक कन्काई नगरपालिकामा मेयर बनेका हुन्।

झापा वाहेक मोरङ, सुनसरी, उदयपुरका अधिकांश पालिका प्रमुखहरूको घरमा तोडफोड र क्षति भएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार तर, कुन–कुन जनप्रतिनिधिको घरमा आगजनी र तोडफोड भयो भनेर पुर्ण तथ्याङ्क भने प्राप्त भईसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट