मुटुमा गोली लागेका जेन–जी युवकलाई त्रिवि मनमोहन सेन्टरले बचायो

काठमाडौँ– भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा मुटुमा गोली लागेका पर्वतका एक युवकलाई त्रिवि शिक्षण अस्पतालले बचाएको छ। अस्पताल परिसरभित्रको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले सफल शल्यक्रिया गरेर ती युवकको ज्यान बचाएको हो।
अस्पतालका अनुसार युवकलाई गोली लागेपछि तत्कालै काठमाडौँ पु¥याएर आपतकालीन कक्ष हुँदै सेन्टरमा भर्ना गरिएको थियो। जटिल शल्यक्रियापछि केही साताको उपचार पूरा गरेर हाल उनलाई डिस्चार्ज गरिएको छ।
सेन्टरका कार्डियोथोरासिक भास्कुलर सर्जरी विभाग प्रमुख डा. अनिल भट्टराईका अनुसार गोली देब्रे छातीबाट प्रवेश गरेर मुटुमा अड्किएको थियो। त्यस क्रममा फोक्सो च्यातिनुका साथै अन्य आन्तरिक अंगमा समेत असर परेको थियो।
‘मुटुमा गोली लागेका घाइतेलाई बचाउनु निकै चुनौतीपूर्ण हुन्छ। तर समयमै ल्याइएकाले उनको ज्यान बचाउन सकियो।’–,’ डा. भट्टराईले भने। यो जटिल शल्यक्रियामा डा. भट्टराईसँगै डा. उत्तमकृष्ण श्रेष्ठ, डा. रन्जन सापकोटा लगायतको टोली संलग्न थियो।
सेन्टरमा यसअघि पनि गोली लागेर फोक्सो र रक्तनलीमा गम्भीर चोट पुगेकाहरूको शल्यक्रिया सफलतापूर्वक गरिएको जनाईएको छ।