रोमानियाको होटलमा आगलागीः मृत्यु भएका २ नेपाली युवतीको सुनको लकेटबाट भयो पहिचान, एक जना इलामकी

काठमाडौँ— युरोपेली मुलुक रोमानियाको प्रहोभा जिल्लास्थित तातरानी सहरको एक होटलमा सोमबार बिहान भीषण आगलागी हुँदा दुई नेपाली युवतीको ज्यान गएको छ। मृत्यु हुनेमा इलामको माई नगरपालिका–७ की २१ वर्षीया सोनी लिम्बू र काठमाडौं दक्षिणकाली नगरपालिका–९ की २४ वर्षीया सुस्मिता तामाङ रहेको पुष्टि भएको छ।
सोनी करिब १ वर्षअघि र सुस्मिता ५ महिना अघि मात्र रोजगारीको सिलसिलामा रोमानिया पुगेका थिए। उनीहरू होटल डालेमा बस्दै आएका थिए। आगलागीमा परी दुवै युवतीको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी इलाम चुलाचुली घर भएकी सुमिना मगर घाइते भएकी छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। म्याग्दीको बेनीका नारायण विक विगत ५ वर्षदेखि सोही होटलमा काम गर्दै आएका छन्। उनका अनुसार होटलमा उनीसहित पाँच जना नेपाली काम गर्थे, तर एक जना नेपाली हाल बिदामा नेपाल आएका थिए।
‘बिहान ७ बजे ठूलो आवाज आएपछि हामी बाहिर निस्क्यौँ। होटलको माथिल्लो तला दनदन बलिरहेको थियो,’ उनले भने, ‘पछि प्रहरी र दमकलले आगो नियन्त्रणमा लिए, तर सोनी र सुस्मिताको शव जलेको अवस्थामा मात्र निकाल्न सकियो।’
उनका अनुसार सोनीले लगाएको सुनको लकेटका आधारमा शवको पहिचान गर्न सकिएको थियो। स्थानीय प्रशासनले आगलागी विद्युत् सर्टका कारण भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। तर, सो होटललाई एक हप्ता अघि नै अग्नि सुरक्षा मापदण्ड नपुगेको भन्दै बन्द गरिएको खुलेको छ। यसैबीच पनि होटल सञ्चालन भइरहेको अवस्थामै यो दुर्घटना भएको हो।
मृतक सोनीका बुबा धनराज लिम्बूले छोरीको शव नेपाल ल्याइदिन रोमानियामा रहेका नेपाली समाज र सम्बन्धित निकायलाई आग्रह गरेका छन्। सोही अनुरोध सुस्मिताका भाइ सुसान तामाङले पनि गरेका छन्।
रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयालले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूको शव नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। ‘यो अत्यन्तै पीडादायी घटना हो। हामी रोमानियन सरकार र सम्बन्धित कम्पनीसँग समन्वय गरेर शव नेपाल पठाउने र क्षतिपूर्तिको पहल गर्नेछौँ,’ फुयालले भने।
हाल रोमानियामा करिब ३० हजार नेपाली कामदार कार्यरत छन्। तर नेपाल सरकारको त्यहाँ कुनै दूतावास वा कूटनीतिक संयन्त्र छैन। यस कारण यस्ता घटनामा पीडित परिवार र समुदायले थप समस्या भोग्नुपरेको देखिन्छ।