बालेन्द्रविरुद्ध वैकल्पिक जेन–जी समूह खडा गर्दै निकोलस, असोज २३ मा जेनजी भेला, कात्तिक १६ पछि आन्दोलन

काठमाडौँ— आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलस भुसालले असोज २३ र २४ गते राजधानीमा जेन–जी राष्ट्रिय भेला आह्वान गरेका छन्। भेला सम्पन्न भएपछि पत्रकार सम्मेलनमार्फत महत्वपूर्ण निर्णय सार्वजनिक गर्ने तयारी गरिएको उनको समूहले जानकारी दिएको छ।
जेन–जी आन्दोलन सुरु भएको एक महिना पुग्ने दिनमै आयोजना गर्न लागिएको यो भेलालाई आन्दोलनको दोस्रो चरणतर्फको कदमका रूपमा हेरिएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले विदेशी शक्तिको आडमा आन्दोलन ‘हाइज्याक’ गरेको भन्दै असन्तुष्टि प्रकट गरेपछि भुसालले जेन–जीभित्र छुट्टै समूह सक्रिय बनाएका छन्। उक्त समूहले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था सहितका माग अघि सारेको छ।
यसअघि भुसाल समूहले भदौ २३ को प्रदर्शनमाथि भएको दमनमा संलग्नलाई तत्काल कारबाही गर्न, भ्रष्टाचारमा मुछिएकालाई कानुनी प्रक्रियामा ल्याउन र अन्तरिम संविधान जारी गर्ने वातावरण बनाउन सरकारलाई माग गरेको थियो। माग पूरा नगरे सरकारलाई दिएको कात्तिक १४ को अल्टिमेटम सकिएसँगै, कात्तिक १६ गतेदेखि नयाँ आन्दोलन सुरु गर्ने चेतावनीसमेत निकोलश समूहले दिएको छ।
भेला र त्यसपछिका निर्णयमार्फत जेन–जी आन्दोलन कुन दिशातर्फ मोडिन्छ भन्ने चासो बढेको छ। यद्यपी उनको झुकाप पछिल्लो समय रास्वपाका सभापति रवि लामिछानेतर्फ देखिएको छ। केही दिनअघि व्यापक प्रचारप्रसार गरेर लामिछानेलाई भेट्न नख्खु कारागार गएका भुसाल निराश भएर फर्केका थिए।
रविलाई भेट्ने अनुमति नपाएपछि उनले काठमाडौँका त्यसको आरोप मेयर बालेन्द्रमाथि खन्याए। रवि बाहिर निस्किएमा आफू पछि पर्छु भन्ने डर बालेन्द्रमा रहेको भुसालको दाबी छ। ‘यो सरकारको मुख्य पात्र बालेन साह हो। रवि, हर्क, निकोलस, दुर्गा बाहिर आए भने म कम हुन्छु भन्ने डर उसलाई छ।’ भुसालले भने–‘म बाहेक कोही छैन र यिनीहरू सबैलाई पन्छाउँछु भन्ने सोचेको छ। अमेरिकी दूतावास र इन्डियन दूतावासले ‘लुसिफर’ लाई प्रयोग गरिरहेका छन्।’
रविसँग आगामी योजनाबारे सल्लाह गर्न आएको तर भेट्न नपाएको दुखेसो भुसालले गरे। ‘मैले भैरहवामा पनि उहाँलाई भेटेँ, पोखरामा पनि भेटेँ। तर यहाँ भेट्न पाइनँ। पार्टीका सिनियर नेता र परिवारका सदस्यले पनि पाएका रहेनछन्’ उनले भने–‘दशैंमा पनि परिवारको एक जनालाई मात्र भेट्न दिने रे। अघिल्लो सरकारले भन्दा पनि अहिलेको सरकारले दमन गरिरहेको छ।’