तिलाठी कोईलाडीमा बाढीको कहरः ५ वटा वडामा पानी पस्दा सयौँ घर डुबानमा (फोटो फिचर)

राजविराज — लगातारको वर्षासँगै आएको जीता नदी र खाडो खोलाको बाढीले तिलाठी कोईलाडी गाउँपालिकाका विभिन्न बस्तीहरू डुबानमा पारेका छन्। गाउँपालिकाका ५ वटा वडामा बाढीको पानी पस्दा सयौँ परिवार प्रभावित भएका छन्।

वडा नम्बर ३ सकरपुरा बस्तीमा बाढीको पानी पस्दा ७५ घर डुबानमा परेका छन्। स्थानीयका अनुसार रातभरको वर्षा र जीता नदीको बाढी ओभरफ्लो भएर बस्तीमा पस्दा घरभित्र पानी पुगेको छ। किसानका खेतबारी पनि डुबानमा परेका छन्।

वडा नम्बर ७ को सरदार टोलमा जीता नदीको पानी पस्दा १८ घरमा ठूलो क्षति पुगेको छ। केही परिवारलाई सुरक्षाकर्मी र स्थानीय युवाहरूले उद्धार गरी उच्च स्थानमा सारिएको छ।

त्यस्तै वडा नम्बर २ लौनियामा खाडो खोलाको बाँधमा रेनकट (कटान) हुँदा बस्तीमा बाढी पसेको छ। बाँध भत्किएपछि पानी गाउँभर फैलिएको छ। सोही वडामा एक घर र वडा नम्बर ४ रामटोलमा अर्को घर भत्किएको स्थानीयले बताएका छन्।

वडा नम्बर ५ बर्साइनमा बाढीले सबैभन्दा ठूलो क्षति पु¥याएको छ। वडाध्यक्ष ललन राउतका अनुसार सो क्षेत्रमा करिब २०० घरमा बाढी पसेको छ। ‘बाढीको पानी अझै घटेको छैन, धेरै परिवारहरू असुरक्षित अवस्थामा छन्,’ उनले भने।

गाउँपालिका प्रशासन र सुरक्षा निकायले बाढीपीडितको उद्धार कार्य तीव्र पारेका छन्। विद्यालय र सामुदायिक भवनहरूमा अस्थायी बासको व्यवस्था गरिएको छ। स्थानीय प्रतिनिधिहरूले तत्काल राहत, खाद्यान्न र सरसफाइ सामग्रीको आवश्यकता भएको बताएका छन्।

तस्विरः राजेश झा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट