जेनजी विद्रोहमा ३४ प्रतिशत अनलाइन संवाद नक्कलीः रिपोर्टले देखायो नेपालको डिजिटल युद्धभूमि

काठमाडौँ– भदौ २३ र २४ गते भएको जेनजी विद्रोह केवल सडकमा देखिएको आन्दोलन थिएन—त्यो एक भयंकर ‘डिजिटल विद्रोह’ पनि थियो भन्ने कुरा एउटा अनुशन्धानले देखाएको छ। इजरायलको तेलअभिभमा रहेको साइबर इन्टेलिजेन्स कम्पनी (सायब्रा) ले सार्वजनिक गरेको अनुसन्धान अनुसार जेनजी प्रदर्शनसँग सम्बन्धित अनलाइन संवादको झन्डै ३४ प्रतिशत नक्कली एकाउन्ट र एआई–आधारित सामग्रीबाट चलाइएको थियो।

यसले नेपालको आन्दोलन अब भर्चुअल रणभूमिमा पनि झन् संवेदनशील र सङ्गठित रूपमा प्रवेश गरिसकेको सन्देश दिएको छ। सायब्रा, जसले विश्वभर गलत सूचना र अनलाइन जोखिम ट्रयाक गर्छ। यसले ‘नेपालको २०२५ को विरोध प्रदर्शनका मुख्य निष्कर्षहरू’ शीर्षकमा जारी गरेको प्रतिवेदनमा जेनजी आन्दोलनका डिजिटल संवादहरूको विस्तृत विश्लेषण गरेको छ। रिपोर्टले नेपालका युवाहरूलाई डिजिटल प्लेटफर्महरूमा लोकतन्त्रका रक्षकको रूपमा चित्रित गर्दै, त्यही संवादभित्र नक्कली र एआई–सञ्चालित प्रोफाइलहरू घुलमिल भएर ‘हिंसात्मक र अतिवादी वातावरण’ बनाउने काम गरेको बताएको छ।

सायब्राका अनुसार, एक्स (ट्विटर) मा अध्ययन गरिएका कुल ३,७८० प्रोफाइलमध्ये १,२८८ अर्थात् ३४ प्रतिशत नक्कली वा शंकास्पद थिए। यी खाताहरूले प्रहरी दमन, राजनीतिक असफलता र राज्यविरोधी भाष्यहरूलाई फैलाउने र वास्तविक प्रयोगकर्तासँग मिसिएर आन्दोलनलाई भावनात्मक रूपमा चर्काउने काम गरेका थिए। रिपोर्टमा भनिएको छ—‘आन्दोलन अवधिका तीनवटा प्रयोगकर्तामध्ये एक नक्कली थिए। यी खाताहरू ‘#WakeUpNepal, #GenZProtest, #NepalProtest, #EnoughIsEnough, #September*’ जस्ता ह्यासट्यागहरू प्रयोग गर्दै वास्तविक संवादमै घुलमिल भएका थिए।

सायब्रा भन्छ—‘यी नक्कली खाताहरूले वास्तविक प्रयोगकर्तासँग मिसिएर विरोधका सन्देशहरूलाई ठूलो बनाएका छन्, र रणनीतिक रूपमा वास्तविक प्रयोगकर्ताहरूको धारणा प्रभावित पारेका छन्।’ रिपोर्टअनुसार, ११.५ प्रतिशत अनलाइन अन्तक्र्रिया (लाइक, कमेन्ट, रिट्विट) करिब १ लाख ६४ हजार नक्कली प्रोफाइलबाटै भएको थियो। यी सामग्रीहरूको सम्भावित पहुँच ३२६ मिलियन स्क्रिनसम्म पुगेको थियो। जसले नेपालको सामाजिक सञ्जालमा चलिरहेको बहसलाई झन् तीव्र र ध्रुवीकृत बनायो।

सायब्राले यी गतिविधिलाई ‘संगठित प्रयास (कोअर्डिनेटेड एक्टिभिटी) भनेको छ। यसका अनुसार, साझा उद्देश्य र योजनाबद्ध रणनीतिमा यी नक्कली प्रोफाइलहरू प्रयोग गरिएका हुनसक्छन्। वास्तविक जस्तो देखिएर प्रयोगकर्तालाई छल्ने र कुनै विचारलाई बढी लोकप्रिय देखाउने यस्तो डिजिटल नेटवर्कले लोकतान्त्रिक बहस नै विकृत पार्ने खतरा देखाएको छ।

सूचना प्रविधि विश्लेषक उज्ज्वल आचार्यका अनुसार, संकटको बेलामा विभिन्न समूहहरू सक्रिय हुन्छन्, तर धेरैवटा आइडी बनाएर नेटवर्क चलायो भने त्यसले लोकतान्त्रिक डिस्कोर्सलाई गलत दिशामा लैजान सक्छ।

सायब्राको विश्लेषण अनुसार, सेप्टेम्बर ६ देखि ७ सम्म आन्दोलनमा सहभागी हुन आह्वान गर्ने हजारौं पोस्टहरू आयो। तीमध्ये धेरै पोस्टमा एआई–उत्पादित भिजुअलहरू प्रयोग गरिएको थियो। यी चित्रहरूले ‘आदर्श आन्दोलन’ को रोमाञ्चक दृश्य सिर्जना गरेर युवालाई आकर्षित गर्ने काम गरे। लाखौं फलोअर भएका कथित ‘इन्फ्लुएन्सर’ले पनि यसलाई पुस्तान्तरणको लडाइँका रूपमा प्रस्तुत गरे। यस्तो सन्देशले आन्दोलनलाई ‘हाम्रो पुस्ताको संघर्ष’ भन्दै आक्रोशित बनायो र सामाजिक सञ्जालमा यसको प्रभाव झन् फैलियो।

सायब्रा प्रतिवेदनले भर्चुअल संवादका तीन मुख्य न्यारेटिभहरू पहिचान गरेको छ। पहिलो, युवा नेतृत्वको लोकतान्त्रिक संघर्ष, जहाँ युवाहरूलाई परिवर्तनका अग्रपंक्ति र लोकतन्त्रका रक्षकका रूपमा चित्रित गरिएको थियो। पुरानो सोच र शासक वर्गलाई संवेदनहीन, भ्रष्ट र प्रतिक्रियावादी भन्दै तुलनात्मक विरोध सिर्जना गरिएको थियो।

दोस्रो, राज्यको बर्बर दमन र प्रहरी हिंसा। दोस्रो दिनको प्रदर्शनपछि राज्य आतंक र सुरक्षा निकायको क्रूरता व्यापक रूपमा चित्रण भयो। प्रहरीद्वारा गोली चलाएको, अश्रुग्यास हानेको, कुटपिट गरेको दृश्यहरू सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भए। जसले नागरिक–राज्यबीचको विश्वास संकट गहिरो बनायो।

तेस्रो, राजनीतिक नेतृत्व संकट। प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरूको राजीनामाको माग र नेतृत्व असफलताको आलोचना मुख्य विषय बन्यो। राजनीतिक अस्थिरता, भ्रष्टाचार र प्रणालीगत विफलतालाई आन्दोलनको जडका रूपमा देखाइयो।

सायब्राले आन्दोलनको डिजिटल स्वरूपलाई ‘Digital Ecosystem of Dissent’ भनेको छ। यसले एक किसिमको बहुआयामिक असन्तुष्टि देखाएको छ, जहाँ हरेक गुनासो अर्को गुनासोको मलजल बन्छ। अक्षम र अनुत्तरदायी सरकार, नागरिकको माग नसुन्ने शासक, भ्रष्ट व्यवस्था—यी सबै कथ्यहरू एउटै निष्कर्षतर्फ तानिन्थे। ‘यो ठिक छैन, परिवर्तन चाहियो।’ सायब्रा भन्छ, ‘नेपालको सडकमा जे भइरहेको थियो, त्यसको समानान्तर र उस्तै तीव्रता डिजिटल स्पेसमा पनि चलिरहेको थियो। आन्दोलन अब सडकको मात्रै होइन, डिजिटल युद्धको पनि एउटा अध्याय बनिसकेको छ।’

सायब्राको निष्कर्ष अनुसार जेनजी आन्दोलन नेपालको इतिहासमा भएको पहिलो त्यस्तो आन्दोलन हो, जसको भर्चुअल तयारी महिनौंअघि नै एआई र नक्कली एकाउन्टमार्फत भइसकेको थियो। डिजिटल संसारको प्रभाव, कमजोर डिजिटल साक्षरता, र सूचनामा सामाजिक सञ्जालमाथिको अत्यधिक निर्भरता मिलेर आन्दोलनलाई तीव्रतर र अनियन्त्रित बनायो। अन्ततः, जेनजी विद्रोह केवल युवाको विरोध नभई वास्तविक असन्तुष्टि र कृत्रिम प्रवर्धनको मिश्रण बनेको एउटा ऐतिहासिक डिजिटल विद्रोह बन्यो। जहाँ वास्तविक आवाज र नक्कली प्रतिध्वनि बीचको सीमारेखा नै हरायो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट