जेन–जी आन्दोलन अरबी देशको दंगा जस्तै, सुदन र बालेन्द्र विदेशी एजेन्डाका मुखौटाः महेश वस्नेत

काठमाडौँ— नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्रीको निकट भनिएका ऊर्जा मन्त्री कुलमान घिसिङदेखि काठमाडौँका मेयर बालेन शाह र जेनजी संयोजक सुदन गुरुङको तीव्र आलोचना गरेका छन्। उनले अख्तियार, सम्पत्ति शुद्धीकरण विभाग र संसदीय समितिमा दर्ता भएका मुद्दाका आधारमा घिसिङमाथि तत्काल छानबिन सुरु गर्न माग गर्दै आफूविरुद्धको पक्राउ प्रयासलाई ‘राजनीतिक षड्यन्त्र’ भएको दावी गरेका छन्।
बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङमाथि कडा प्रहार गरे। उनले भने, ‘भ्रष्टाचारविरुद्धको जेनजी अभियानमा हामी पनि साथ दिन्छौं, तर छानबिनको सुरुवात कुलमान घिसिङबाट गर्नुपर्छ। मैले कुलमानजस्तो भ्रष्टाचारी अर्को देखेको छैन।’
बस्नेतका अनुसार घिसिङमाथि अख्तियारमा दर्जनौं मुद्दा दर्ता छन्। उनले भने, ‘सम्पत्ति शुद्धीकरणमा मुद्दा छ, संसदीय समितिमा पनि मुद्दा छ। त्यसैले अहिलेको भ्रष्टाचार छानबिन त्यहींबाट सुरु गरौं।’ उनले घिसिङमाथि आफ्ना भतिजामार्फत ‘लामा कन्ट्रक्सन’ नामक कम्पनीमा ६० प्रतिशत लगानी गरेको आरोप लगाए। बस्नेतले भने–‘घिसिङ जी सुटबुट लगाएर बाढीपहिरो निरीक्षणको नाटक गर्दै हिँड्छन्, तर सूर्यविनायक–धुलिखेल सडकमा उनी भतिजोमार्फत ठेक्का चलाउँछन्।’
बस्नेतले पूर्वअर्थसचिव तथा वर्तमान अर्थमन्त्री रामेश्वर खनालमाथि पनि छानबिन सुरु गर्न माग गरे। उनले भने, ‘सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा खनालजीबाट सुरु गर्नुपर्छ। उनीहरू पनि जिम्मेवार छन्।’ उनका अनुसार अख्तियार र संसदले अहिलेका चर्चित पात्रहरूभन्दा पहिले पुराना आर्थिक निर्णयकर्तामाथि पनि प्रश्न उठाउनुपर्ने बेला आएको छ।
बस्नेतले काठमाडौँ महानगर प्रमुख बालेन शाह र ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङमाथि समेत कडा आरोप लगाए। उनले भने, ‘हामीलाई पक्राउ गराउने अभियान बालेनकै योजनामा चलिरहेको छ। बस्नेतले आफूविरुद्ध प्रहरीले पक्राउ पुर्जी मागेर अदालत गएको घटनालाई ‘षड्यन्त्र’ भने। उनले भने, ‘हिजो अदालतले सरकारको षड्यन्त्र अस्वीकार गर्यो। म भाग्न चीन वा भारत जाने होइन, यही गुन्डुमै बस्छु। लोकतन्त्र र विधिको शासनको लागि सयौँ पटक जेल जान तयार छु।’
उनले ५ महिना अघि तामेलीमा राखिएको मुद्दा अहिले राजनीतिक दबाबमा खोलिएको दाबी गरे। उनले थपे, ‘हुँदै नभएको मुद्दा सिर्जना गरेर, पात्र खडा गरेर गिरफ्तारीको प्रयास भयो। अदालतले त्यो षड्यन्त्र अस्वीकार गर्यो।’ बस्नेतले अब ‘डिजिटल फोर्स’ गठन गरेर जेनजी आन्दोलनका नाममा भएका आगजनी, लुटपाट र हत्या घटनाको प्रमाणसहित खोजी सुरु गर्ने घोषणा पनि गरे।
बस्नेतले प्रतिनिधिसभा पुनस्र्थापना गरेर जेनजी आन्दोलनका केही जायज माग सम्बोधन गर्न सकिने बताएका छन्। उनले भने, ‘एमाले लोकतन्त्र, राष्ट्रियता र जनहितका पक्षमा निरन्तर लड्नेछ। तर छानबिनका नाममा पात्रमात्र होइन, संरचनासम्म जाँच हुनुपर्छ।’ उनका अनुसार सरकारले आगामी फागुन २१ मा तोकिएको निर्वाचनसमेत अस्थिर पार्ने संकेत देखाएको छ।
बालेन्द्र र सुदन विदेशी एजेण्ट
महेश बस्नेतको यो पत्रकार सम्मेलनले हालको राजनीतिक र प्रशासनिक संरचनामाथि नयाँ प्रश्न उठाएको छ। उनले घिसिङ र खनालमाथि गम्भीर आर्थिक आरोप लगाउँदै बालेन्द्र साह र सुदनलाई विदेशी एजेन्डा चलाएको आरोप पनि लगाएका छन्।
उनका अनुसार जेनजी आन्दोलनका नाममा भएको आन्दोलनमा आतंकवादी गतिविधि समावेश गरिएको थियो। उनले भने, ‘भ्रष्टाचारविरुद्धको आन्दोलनको मुद्दा अपहरण भएको छ। २३ र २४ गते भएको आन्दोलन अरबी मुलुकको दंगाभन्दा फरक थिएन।’ बस्नेतले विदेशी शक्तिको प्रभाव बढेको चेतावनी दिँदै भने, ‘विभिन्न अन्तर्राष्ट्रिय एजेन्टहरूले हाम्रो राज्य संयन्त्र कब्जा गर्न खोज्दैछन्। सुदन गुरुङ र बालेन्द्र साह ती एजेन्डाका मुखौटा हुन्।’