टीओबी समुहको घुपैठको आशंका सँगै सुदन गुरुङ प्रहरीको निगरानीमा

काठमाडौँ— भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको भीड अहिले तितरबितर भइसकेको छ। तर त्यसले जन्माएको राजनीतिक र सुरक्षा बहस अझै थामिएको छैन। आन्दोलनका भीडभाडबीच देखिएको एउटा शब्द —‘टिबेटन ओरिजिनल ब्लड’ (टीओबी) — अहिले काठमाडौँको सुरक्षा संयन्त्रदेखि भूराजनीतिक वृतसम्म चासोको केन्द्र बनेको छ।

यही सन्दर्भमा जेन–जी अभियन्ता सुदन गुरुङ पनि निगरानीको दायरामा पुगेका छन्। उनी ‘हामी नेपाल’ नामक संस्थाका अध्यक्ष र आन्दोलनका प्रमुख अभियन्ता मानिन्छन्। तर, टीओबी समूहका सदस्यहरू फ्री तिब्बत समर्थक रहेको शंका बढेपछि, गुरुङमाथि पनि सुरक्षा निकायले निगरानी बढाएको छ।

गृह मन्त्रालयका सहप्रवक्ता रविन्द्र आचार्यका अनुसार, ‘यो विषय गम्भीर भएकाले शंकास्पद देखिएको जोकोहीमाथि निगरानी गर्न निर्देशन दिइसकिएको’ छ। सुरक्षा स्रोतहरूका भनाइअनुसार, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सँगसँगै निगरानी थालेका छन्। फ्री तिब्बतको अभियान नेपाल–चीन सम्बन्धसँग जोडिएको अत्यन्त संवेदनशील विषय भएकाले सुरक्षा निकाय गम्भिर बनेको हो।

‘छिमेकी मुलुकसँग सम्बन्धित मुद्दा भएकाले यसले कूटनीतिक असर पार्न सक्छ,’ एक सुरक्षा अधिकारीले भने, ‘त्यसैले अनुसन्धान र निगरानी दुवै स्तरमा भइरहेको छ।’ जेन–जी आन्दोलनको समयदेखि नै सामाजिक सञ्जालमा सुदन गुरुङमाथि ‘फ्री तिब्बत अभियानसँग सम्बन्ध’ रहेको आरोप लाग्दै आएको छ।

तर उनले आइतबार सामाजिक सञ्जालमा भिडियो जारी गर्दै ती सबै आरोपको खण्डन गरे। ‘म कुनै विदेशी एजेन्डाको हिस्सा होइन,’ उनले भिडियोमा भने, ‘म नेपाली युवाको असन्तुष्टि र परिवर्तनको पक्षधर हुँ।’

उनले आफ्नो स्पष्टीकरण दिए पनि उनीमाथिको निगरानी घटेको छैन। सुरक्षा अधिकारीहरूको भनाइमा, ‘फ्री तिब्बतसँग जोडिएको हरेक व्यक्ति र गतिविधि सरकारको निगरानीमा रहन्छ।’ भदौ २३ र २४ का घटनामा ‘टीओबी’ लेखिएको ज्याकेट लगाएका युवकहरू प्रदर्शनमा सहभागी देखिएपछि शंका सुरु भएको थियो।

त्यसपछि सरकारले आन्दोलनभित्रको घुसपैठ सम्भावनालाई गम्भीर रूपमा लिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनमा सहभागी भई हिंसा भड्काएको आरोपमा टीओबी समूहका तीन युवालाई ६ दिनका लागि हिरासतमा राख्ने अनुमति दिइसकेको छ।

प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, ‘हाल बलियो प्रमाण नफेला परेकाले अभद्र व्यवहारमा अनुसन्धान अघि बढाइएको छ।’ तीमध्ये एक जना तेन्जिन दावा, टीओबी ट्याटु स्टुडियोका सञ्चालक हुन। जसले आफूलाई समूहको संस्थापक भनेका थिए।

आन्दोलनपछि सुदन गुरुङले सरकार गठनमा समेत हस्तक्षेप गर्ने प्रयास गरेको स्रोतहरूले बताएका छन्। प्रधानमन्त्री सुशीला कार्की नियुक्त भएको केही दिनमै उनले राजीनामा माग्दै बालुवाटारअगाडि नाराबाजी गरेका थिए। त्यो दिन राति १२ बजे उनले उद्घोष गरेका थिए — ‘सबैभन्दा ठूलो शक्ति नेपाली जनता हो, जसले राख्छ, उसैले हटाउँछ।’

यसअघि उनले प्रधानमन्त्रीको खुट्टा ढोग्दै खिचिएको तस्बिर पनि सार्वजनिक गरेका थिए। त्यसपछि, सामाजिक सञ्जालमा उनले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि धम्कीमूलक भाषा प्रयोग गरेको भिडियो समेत भाइरल बनेको थियो।

जेन–जी आन्दोलनका अन्य अभियन्ताहरू भने सुदन गुरुङप्रति असन्तुष्ट छन्। तीमध्ये एक जनाले सामाजिक सञ्जालमा लेखेका छन् — ‘सुदनले आन्दोलनलाई आफ्नो व्यक्तिगत लाभका लागि प्रयोग गरे। हामीले साँचो आन्दोलनको मर्म बचाइरहेका छौं।’

सरकारी संयन्त्रले यो आन्तरिक विवादमा औपचारिक प्रतिक्रिया नदिए पनि, फ्री तिब्बतसँग जोडिएको कोणलाई भने ‘उच्च प्राथमिकतामा अनुसन्धान भइरहेको’ बताएको छ। नेपालले सन् १९५० यता ‘एक चीन नीति’को समर्थन गर्दै आएको छ। यस नीतिअनुसार, तिब्बत चीनको हिस्सा हो र त्यसको स्वतन्त्रताबारे कुनै पनि अभियान नेपालमा कानुनविपरीत ठहरिन्छ।

त्यसैले, जेन–जी आन्दोलनमा ‘टिबेटन ओरिजिनल ब्लड’ जस्ता प्रतीक देखिनु कूटनीतिक दृष्टिले जोखिमपूर्ण संकेत मानिएको हो। प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरे भन्छन् —‘हामीले पनि ती फुटेज र रिपोर्टहरू अध्ययन गरिरहेका छौं। जोसुकै व्यक्ति होस्, कानुनअनुसार अनुसन्धान हुनेछ।’

यि सवै प्रकरणपछि जेन–जी आन्दोलनबाट सुरु भएको नागरिक असन्तुष्टि अहिले भूराजनीतिक प्रश्नमा रूपान्तरित भएको छ। फ्री तिब्बतसँग जोडिएको शंका र त्यसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभावले नेपालको राष्ट्रिय स्वाधीनता र कूटनीतिक सन्तुलन दुबैमा चुनौती थपेको छ।

त्यसैले सुदन गुरुङका गतिविधि अहिले निगरानीको विषय बनेका छन्— तर, यो निगरानीले देशको सुरक्षा रणनीतिमा नयाँ ‘साइको–पोलिटिकल’ अध्याय सुरु गरेको विश्लेषकहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट