‘शहीदको रगतमाथि सत्ता कु’ गरेको आरोप लगाउँदै प्रधानमन्त्री कार्कीलाई पक्राउ गर्न जेनजीको माग

काठमाडौँ — जेनजी आन्दोलनका एक अगुवा रविकिरण हमालले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध ‘शहीदको रगतमाथि सत्ता कु गरेको’ आरोप लगाउँदै उनलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

हमालले बुधबार प्रहरी महानिरीक्षकलाई औपचारिक पत्र बुझाउँदै अन्तरिम प्रधानमन्त्री कार्कीमाथि संविधान, जनम्यान्डेट र कानुनी परम्पराको उल्लङ्घन गरेको दाबी गरेका हुन्। हमालले बुझाएको पत्रमा कार्कीले जेनजी आन्दोलनका क्रममा बलिदान दिएका युवाहरूको रगतको अवमूल्यन गर्दै ‘अवैधानिक तरिकाले सत्ता कब्जा’ गरेको उल्लेख छ।

पत्रमा भनिएको छ, ‘प्रधानमन्त्री कार्कीले जनताको म्यान्डेट बिना नै असंवैधानिक ढङ्गले सत्ताको लगाम समातेकी छन्, जुन राष्ट्रघात बराबरको काम हो।’ कार्की नेतृत्वको मन्त्रिपरिषदमा भ्रष्टाचारमा मुछिएका, दातृ निकायसँग अनुचित सम्बन्ध राख्ने र बलिदानप्रति असंवेदनशील व्यक्ति सामेल भएको उनको आरोप छ।

राप्रपा निकट हमालले प्रधानमन्त्री कार्कीमाथि आन्दोलनका क्रममा निर्दोष युवामाथि गोली चलाउनेहरूलाई संरक्षण दिई पुनः सक्रिय राजनीति गर्न प्रेरित गरेको आरोप पनि लगाएका छन्। उनका अनुसार प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतको प्रमुख न्यायाधीश रहँदा पनि न्यायपालिकामा राजनीतिक हस्तक्षेप गरेकी थिइन्।

उनले पत्रमा लेखेका छन्, ‘प्रधानमन्त्री कार्कीले न्यायाधीश नियुक्तिमा राजनीतिक आस्था हेरेकी थिइन्, जसले न्यायालयको स्वतन्त्रता कमजोर बनायो।’ हमालले कार्कीमाथि आन्दोलनलाई प्रायोजित बनाएर युवालाई द्वन्द्वमा धकेलेको र त्यसैको परिणामस्वरूप निर्दोषहरूको ज्यान गएको दाबी गरेका छन्। ‘जेनजी आन्दोलनको नाममा सत्ता लुट्ने र शहीदको बलिदानलाई ओझेल पार्ने यो नाटक हो,’ उनले भनेका छन्।

उनले प्रधानमन्त्रीलाई तत्काल पक्राउ गरी सार्वजनिक, पारदर्शी र निष्पक्ष छानबिन गर्न माग गरेका छन्। साथै उनले प्रहरी निकायलाई राजनीतिक दबाबमा नपरी कानुनी प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका छन्।

प्रहरी मुख्यालयले भने यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर हमालले निवेदन आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि विषयले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ। जेनजी आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा निकट हमालको यो कदमले आन्दोलनपछि बनेको अन्तरिम सरकारको नैतिकता र वैधानिकतामाथि फेरि प्रश्न उठाएको विश्लेषकहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट