ह्यात होटल बन्द भएको विषयले सरकारमा हलचलः प्रधानमन्त्री र अर्थमन्त्री सकृय
काठमाडौँ— प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे गम्भीर चासो व्यक्त गरेकी छन्।
प्रधानमन्त्रीले चासो देखाएपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहान ह्यात रिजेन्सी व्यवस्थापनसँग प्रत्यक्ष कुराकानी गरेका छन्। यस क्रममा अर्थमन्त्री खनालले व्यवस्थापनलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिने सरकार तयार रहेको बताएका छन्। उनले व्यवस्थापन पक्षलाई विचलित नहुन र होटल सञ्चालन निरन्तर राख्न आग्रह समेत गरेका छन्।
अर्थमन्त्री खनालले व्यवस्थापनलाई भनेका छन्, ‘तपाईंहरू आत्तिनु भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सञ्चालन गर्नुहोस्। हामी साथमा छौं। सुरक्षाको व्यवस्था हामी मिलाउँछौं। कत्ति पनि विचलित नहुँदै आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्।’
प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ कि आइतबार होटल व्यवस्थापनसँग थप छलफल गरी आवश्यक पहल गरिनेछ।
ह्यात होटलले गत कात्तिक २ गते विज्ञप्ति जारी गर्दै भदौ २४ गतेको आन्दोलनमा भएको तोडफोड र आगजनीले होटल संरचनामा क्षति पुगेका कारण तत्काल सञ्चालन सम्भव नभएको जनाएको थियो।
होटलले मर्मत तथा पुनर्निर्माणको कार्य सुरु गर्नुपर्ने आवश्यकतामा जोड दिँदै, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सम्पूर्ण होटल बन्द रहेको र कर्मचारीहरू अर्को सूचना नआउँदासम्म उपस्थित नहुने जानकारी दिएको थियो।
काठमाडौंको चुच्चेपाटीमा रहेको ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशमा निषेध भएसँगै व्यवसाय र श्रमिकहरूको अवस्था सतर्कता र चासोको विषय बनेको छ। प्रधानमन्त्री कार्कीको हस्तक्षेप र अर्थमन्त्रीको प्रत्यक्ष निगरानीपछि होटल पुनः सञ्चालन होला वा नहोला चासोको विषय वनको छ।
