शोभा पाठकले पनि नपत्याएका मन्त्री बब्लु गुप्ताः पैसाका लागि जे पनि गर्न सक्छन्
काठमाडौँ— आजै मात्र युवा तथा खेलकुद मन्त्रीको सपथ लिएका बब्लु गुप्तामाथि शोभा पाठकले गम्भीर आरोप लगाएकी छिन्। एक युट्युब अन्तर्वार्तामा उनले गुप्ताले नेकपा एमाले नेता महेश बस्नेतसँग मिलेर आफूलाई दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्न धम्की दिएको दाबी गरेकी छिन्।
‘जुन बेला हाम्रो त्यो बेड फोटो बाहिर आएको थियो, त्यतिबेला दुर्गा प्रसाईं र महेश बस्नेतबीच वार कि पारको अवस्था थियो। म त्यतिबेला निकै मानसिक तनावमा थिएँ। त्यसै समयमा दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्ने कुरा उठ्यो, तर म त्यसमा सहमत हुन सकिनँ।’– उनले भनेकी छिन्।
‘मुद्दा हाल्ने विषयमा असहमति जनाएपछि महेश बस्नेतलगायतले मलाई पेप्सीकोलास्थित एउटा घरमा लगे। त्यहाँ बब्लु गुप्ता पनि उपस्थित थिए। त्यही घरमा मलाई ‘यो कुरा भन, नत्र तेरो ज्यान छैन’ भनेर धम्की दिइयो’ उनले थपिन।
पाठकका अनुसार, त्यस वेला उनी तीन–चार जना पुरुषबाट घेरिएकी थिईन। त्यही बेला आफुले बब्लु गुप्ताको व्यवहार र भाषामा धम्कीको प्रत्यक्ष अनुभव गरेकोको उनको भनाई छ। ‘त्यो दिनसम्म म उहाँलाई व्यक्तिगत रूपमा चिन्दिनँ थिएँ, नाम मात्रै सुनेकी थिएँ। कोरोना कालमा सामाजिक अभियन्ताको रूपमा देखिएको मानिस त्यस्तो रूपमा देख्दा म चकित परें,’ उनले भनिन्।
बब्लु गुप्ता पैसाका लागि जे पनि गर्न सक्ने व्यक्ति भएको उनको दावी छ। ‘मलाई एक्लै कोठामा लगेर धम्की दिइयो। केही दिनअघि माइतीघरमा भेट्दा पनि उनले मेरो आँखामा हेर्न सकेनन्। नमस्कार गरेर तुरुन्तै फर्किए।’– पाठकले थपिन।
उनको दाबीअनुसार, दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्ने योजना आसा भारती नामकी महिलामार्फत अघि बढाइएको थियो। तर पाठकले त्यो योजना अस्वीकार गरेपछि उनलाई दबाबमा पार्ने प्रयास भएको थियो।
पाठकले अन्तर्वार्तामा खुलेर भनेकी छन्, ‘या त भनेका काम गर, या त ज्यान मायाँ मार भनेर धम्क्याईयो। त्यसलाई के भनिन्छ, तपाईंहरूले नै बुझ्न सक्नुहुन्छ।’ यो आरोप अहिले थप विवादित बनेको छ, किनभने गुप्ता प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री बनेका छन्।
सामाजिक सञ्जालमा उनको पुरानो राजनीतिक गतिविधि, ‘हन्ड्रेड ग्रुप’ र विवादास्पद व्यक्तिहरूसँगको निकटता सतहमा आएको छ। यस घटनाबारे बब्लु गुप्ताले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। न त महेश बस्नेत वा दुर्गा प्रसाईं पक्षबाट औपचारिक टिप्पणी आएको छ।
पाठकको भनाई
जुन बेला हाम्रो त्यो बेडको फोटो बाहिर आएको थियो, त्यतिबेला दुर्गा प्रसाईं र महेश बस्नेतबीच ‘वार कि पार’को अवस्था चलिरहेको थियो।
त्यो समयमा म आफैं मानसिक रूपमा निकै विछिप्त अवस्थामा थिएँ। त्यसै बेला दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्ने कुरा उठ्यो। मुद्दा हाल्ने कुरा आएपछि म अघि बढिनँ, किनभने त्यो काम आसा भारतीजीले गर्नुपर्ने भनिएको थियो। तथ्यमा पुग्नुपर्ने भएकाले मैले आसा भारतीजीलाई अगाडि सारें।
तर, दुर्गा प्रसाईंलाई मुद्दा नहाल्ने कुरा भएपछि महेश बस्नेतलगायतले मलाई पेप्सीकोलास्थित एउटा घरमा लिएर जानुभयो। त्यहाँ पुगेपछि बब्लु गुप्ता पनि त्यही उपस्थित हुनुहुन्थ्यो। त्यो दिनसम्म म उहाँलाई व्यक्तिगत रूपमा चिन्दिनँ–कोरोना कालमा काम गरेको भनेर नाम मात्रै सुनेकी थिएँ।
त्यो घरको कोठामा मलाई लगेर तीन–चार जना पुरुषहरू थिए, म एक्ली महिला थिएँ। केही दिनअघि माइतीघरमा उहाँ (गुप्ता) लाई भेट्दा पनि उहाँले मेरो आँखामा हेर्न सक्नुभएन, नमस्कार गर्नुभयो तर एक शब्द पनि बोल्न सक्नुभएन र एक मिनेट पनि टिक्न सक्नुभएन।
म यति मात्र भन्छु– बब्लु गुप्ता पैसाका लागि जे पनि गर्न सक्ने मान्छे हुन्। मलाई एउटा कोठामा लगेर भनियो–या त यो भन, नत्र तेरो ज्यान छैन। त्यसलाई के भनिन्छ, तपाईंहरूले नै बुझ्न सक्नुहुन्छ।
