‘राजनीतिक इगो’ले पारिवारिक कलहः घरको स्वामित्व विवादले सांसद किरणकुमारी साह विवादमा
 
													राजविराज — मधेश प्रदेशकी प्रदेशसभा सदस्य किरणकुमारी साहले वृद्ध सासुससुरालाई घरबाट निकालेको विषयले अहिले देशभर चासो र बहस पैदा गरेको छ। सासुससुराले घरबाट निकालिएको भन्दै आरोप लगाइरहेका छन् भने सांसद किरणले ती सबै दाबीलाई अस्वीकार गरेकी छन्।
यो विवाद राजविराज–७, सिरहा रोडमा रहेको घरको स्वामित्वसँग जोडिएको छ। यही घरबारेको मतभेदले परिवारभित्रको सम्बन्ध बिगार्दै सांसद साहमाथि आफ्नै सासुससुरामाथि ज्यादती गरेको गम्भीर आरोप लागेको हो।
८० वर्षीय देवनारायण साह र ७५ वर्षीया शान्तिदेवी साहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको भिडियो सन्देशले विवादलाई सतहमा ल्यायो। भिडियोमा देवनारायणले भनेका छन्, ‘हामी मन्दिर गएको बेला छोरा–बुहारीले दराज फुटाएर घरका कागजात र एक लाख २५ हजार रुपैयाँ कब्जा गरे। त्यसपछि छोराले पनि धम्क्याएर घरबाट निकाल्यो।’
वृद्ध दम्पतीका अनुसार असोज २० गतेपछि उनीहरू आफ्नै घरमा प्रवेश गर्न पाएका छैनन् र विभिन्न नातेदारको घरमा शरण लिइरहेका छन्। ‘हामी वेघर भएका छौं,’ देवनारायणले भने, ‘म पूर्वकर्मचारी हुँ, तर अहिले न घर न घाटको भएको छु।’ शान्तिदेवीले पनि बुहारीमाथि दुव्र्यवहारको आरोप लगाइन्। ‘भान्सा कोठामा गए पनि खुट्टा भाँचिदिन्छु भनेर धम्की दिन्थिन्,’ उनले भनिन्।
देवनारायण, उनकी श्रीमती शान्तिदेवी र बुहारी किरण एउटै घरमा वस्दै आएका थिए। उनका छोरा विनोदकुमार साह काठमाडौँमा बस्छन् र इन्जिनियरका रूपमा आफ्नै कम्पनी सञ्चालन गर्छन्। उनका सन्तानहरू पनि राजधानीमै छन्।
देवनारायणका अनुसार किरण र उनका श्रीमान विनोदले राजविराजमै अदालत पछाडि र काठमाडौँमा पनि पाँच÷पाँच तले घर बनाएका छन्। इटहरी–विराटनगर क्षेत्रमा पनि जग्गा खरिद गरेका छन्। ‘ती सबै घर हुँदा पनि हामी बसिरहेको घर कब्जा गरेर निकालिएको छ।’ उनका अनुसार हाल वसिरहेको घर उनलाई ससुरालीले नै बनाइदिएका थिए।
तर सांसद किरणकुमारी साहले यी सबै आरोप अस्वीकार गर्दै विवादको जरो आफ्नी नन्दसँग जोडिएको र ‘घरको मर्मत’ विषय जोडिएर सतहमा आएको बताइन्। उनले भनिन्, ‘घर पुरानो भएकाले चुहिन थालेको छ। ट्वाईलेट–बाथरुम प्रयोग गर्न सकिँदैन, हामी मर्मत गर्न खोज्दै थियौं, तर वहाँहरू तयार हुनुभएन।’
घर मर्मतको कुरा गरेपछि साससुराले ‘हाम्रो घर छोडेर गई हाल’ भन्दै धम्की दिएको उनि वताउँछिन्। त्यसपछि वहाँहरु आफै घर छोडेर छोरी (माधुरीकुमारी साह) को घरमा गएर वस्न थाल्नु भयो। उनका अनुसार अहिले सासुससुरा छोरी माधुरी साहकै घरमा वसेका छन्।
‘वहाँहरू भाइटीकामा नन्दकोमा जानुभएको थियो, त्यसपछि फर्केर आउनु भएको छैन। उल्टै हामीमाथि अनाहकको आरोप लगाइरहनुभएको छ।’– उनले भनिन्। यद्यपी, घर छोडेर जाने विषयमा भने किरण स्वयम पनि तयार छैनन्। ‘म विवाह गरेर यही घरमा भित्रिएकी हुँ। मेरो इतिहास र जीवन यही घरसँग जोडिएको छ,’ उनले भनिन्, ‘२५ वर्षदेखि यही घरमा वस्दै आएकी छु। सासुससुरासँग वस्न म अझै तयार छु, सेवा गर्छु। तर वहाँहरूले नै मसँग बस्न नचाहेको हो।’
सासु ससुराले चाहे अर्को घरको व्यवस्था गर्न पनि तयार रहेको उनले वताएकी छिन्। ‘तर, सर्त के हो भने–छोरीको घरमा वसेर मेरो वदनामी गर्न पाईँदैन।’– उनले थपिन।
पारिवारिक विवादमा ‘राजनीतिक इगो’
किरणले विवाद केवल पारिवारिक नभई राजनीतिक ‘इगो’को परिणाम भएको आरोप लगाएकी छन्। उनका अनुसार सासुससुरालाई छोरी माधुरी साहले उकासेकी छन्। ‘हामी दुवै जना राजनीतिमा छौं। वहाँ प्रतिनिधि सभा (सप्तरी निर्वाचन क्षेत्र नम्बर ४) मा उम्मेदवार हुनुहुन्थ्यो, हानु भो। म प्रदेश सभामा समानुपातिक सांसद हुँ। आफु हारेको र म सांसद भएको रिस त्यति वेलै वुबाआमासँग पोख्नु भयो, तर त्यतिवेला वहाँहरुले प्रतिक्रिया जनाउँनु भएन।’– किरणले थपिन।
उनका अनुसार अहिलेको झगडा सोही इगोको परिणाम हो। ‘मुख्य म सांसद भएँ भन्ने इगो हो। त्यो इगो बोकेर अहिले मेरै सासुससुरालाई म विरुद्ध उभ्याइयो,’ किरण भन्छिन्–‘यो योजनाबद्ध काम हो।’ यस विषयमा माधुरीकुमारी साहसँग भने सम्पर्क हुन सकेको छैन।
छोरा विनोदकुमार साहले पनि बुबाआमाले नै भिडियो बनाएर गलत आरोप लगाएको दाबी गरे। ‘दसैंमा म फर्किँदा घर अस्तव्यस्त थियो। त्यसलाई व्यवस्थित गर्न पैसा माग्दा बुबाले नै हातपात गर्नुभयो,’ उनले भने, ‘त्यसपछि उल्टो ममाथि नै दुव्र्यवहारको आरोप लगाइयो।’
यो विषय सामाजिक सञ्जाल हुँदै प्रहरीसम्म पुग्यो। विहिबार दुवै पक्ष प्रहरी कार्यालयमा लामो छलफल पछि सहमति कागजमा हस्ताक्षर गरेका छन्। सहमतिपछि पनि ससुससुरा छोरीकै घर गएको किरणले वताईन।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीले पनि दुवै पक्षले आपसी सहमति गरेर गएको र समस्या समाधान भएको वताए। यद्यपी यो परिवारबीचको विवादले राजविराजदेखि काठमाडौंसम्म सामाजिक र राजनीतिक तहमा व्यापक चर्चा पाएको छ। स्थानीयहरूका अनुसार घर स्वामित्व र पारिवारिक सम्पत्ति व्यवस्थापनकै विषयले यो कलहको रूप लिएको हो, जसले वृद्ध आमाबुवाको अवस्था असहज बनाएको छ भने सांसद किरणकुमारी साहको राजनीतिक छविमा पनि प्रश्न उठाएको छ।
यो पनि,

 शीर्ष खबर
								शीर्ष खबर 							
 
  
  
  
  
  
  
 