सप्तरीमा प्रदेश सांसद किरणकुमारी साहद्वारा सासु–ससुरामाथि ज्यादती, घरबाट निकालिएपछि १५ दिनदेखि भौतारिँदै वृद्ध दम्पती
सप्तरी — मधेश प्रदेशकी सांसद किरणकुमारी साहमाथि आफ्नै सासु–ससुरालाई घरबाट निकालेर ज्यादती गरेको गम्भीर आरोप लागेको छ। सासुससुरा ८० वर्षीय देवनारायण साह ७५ वर्षीया शान्तिदेवी साह अहिले बेघर भई न्यायको याचना गर्दै भौतारिँदै हिँडिरहेका छन्।
राजविराज नगरपालिका–७ का देवनारायण र शान्तिदेवीको मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोले यो घटना सतहमा आएको हो।सो भिडियोमा वृद्ध दम्पतीले सांसद बुहारी र इन्जिनियर छोरा विनोदकुमार साहले मिलेर आफूहरूलाई घरबाट निकालेको खुलासा गरेका छन्।
‘मन्दिर गएको बेला घरको दराज फुटाएर १ लाख २५ हजार रुपैयाँ र जग्गाजमिनका सबै कागजात कब्जा गरे,’ देवनारायणले भिडियोमा भनेका छन्, ‘त्यसपछि घरको मालिक म हुँ, यहाँबाट गइहाल भन्दै छोराले नै धाकधम्की दियो।’
पूर्वकर्मचारी समेत रहेका देवनारायणले प्रहरीले समेत न्याय नदिएको आरोप लगाएका छन्। उनका अनुसार असोज २० गते घरबाट निकालिएपछि उनीहरू विभिन्न नातेदारको घरमा शरण लिँदै आएका छन्। ‘कान्छो छोरा काठमाडौंमा छ, जेठोले घरबाटै निकालिदियो,’ उनले भने, ‘एउटा छोरो इन्जिनियर र अर्को छोरो डाक्टर छ। अहिले हामी भोकभोकै भौतारिनुपरेको छ।’
शान्तिदेवीले पनि बुहारीले पटक–पटक गालीगलौज र धम्की दिएको आरोप लगाइन्। ‘भान्सा कोठामा गएका बेला बेला खुट्टा भाँचिदिन्छु भन्दै गाली गर्थिन्,’ उनले भनिन्, ‘अहिले हामीसँग न घर छ, न सम्मान।’
तर सांसद किरणकुमारी साहले भने यी सबै आरोपलाई अस्वीकार गरेकी छन्। उनले विवाद ‘सेफ्टी ट्यांक सफा गर्ने विषय’मा मात्र भएको बताइन्। ‘उहाँहरू भाइटीकामा मेरी नन्दकोमा जानुभएको थियो, त्यसपछि सम्पर्क भएको छैन,’ उनले भनिन्, ‘हामीमाथि लगाइएका आरोपहरू पूर्णतः असत्य र अनाहकका हुन्।’
छोरा विनोदकुमार साहले पनि आफ्ना बुवाआमाले नै भिडियो बनाएर गलत आरोप लगाएको दाबी गरे। ‘दसैंमा फर्किँदा घर अस्तव्यस्त थियो, त्यसलाई व्यवस्थित गर्न पैसा माग्दा बुवाले नै हातपात गर्नुभयो,’ उनले भने, ‘त्यसपछि उल्टो ममाथि नै दुव्र्यवहारको आरोप लगाइयो।’
प्रहरीाले भने अहिलेसम्म देवनारायण साहका तर्फबाट कुनै औपचारिक उजुरी नआएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीका अनुसार ‘यस विषयमा कुनै लिखित उजुरी दर्ता भएको छैन।’
