तुलसीको मोठमा लात्ती हानेको आरोपमा चौदण्डीगढीका मेयर कालु लामा विवादमा, फोटोबारे ‘एआई’ भन्दै बचाउ
बेल्टार (उदयपुर)– उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर तथा नेकपा एमाले, जिल्ला कमिटी उदयपुरका उपाध्यक्ष कालुमान लामा अहिले चर्को विवाद र आलोचनाको केन्द्रमा छन्। देशभर नेकपा एमालेमाथि भइरहेको राजनीतिक आक्रमणबीच एमालेकै तर्फबाट निर्वाचित लामा धार्मिक आस्थामाथिको अपमानका कारण विवादमा तानिएका हुन्।
लामामाथि हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुको प्रतीकका रूपमा पूज्ने तुलसीको मोठमा लात्ती हानेको आरोप लागेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको एक तस्वीरमा मेयर लामाले तुलसीको मोठमाथि बायाँ खुट्टा राखेको देखिन्छ। उक्त फोटोले सामाजिक तथा धार्मिक समुदायमा तीव्र प्रतिक्रिया र आक्रोश उत्पन्न गराएको छ।
फेसबुकमार्फत भाइरल बनेको तस्बिरमा लामासँगै नेपाली सेनाका अवकाश प्राप्त जवान भीमबहादुर परियार र नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक (सई) नारायण तामाङ पनि देखिएका छन्। तामाङ लामाका मामा हुन। तस्बिरको एकातर्फ छेउमा लामा उभिएका छन् र उनको खुट्टा तुलसीको मोठमाथि परेको स्पष्ट देखिन्छ।
स्रोतका अनुसार यो फोटो करिब एक वर्षअघि खोटाङको वाराहपोखरी गाउँपालिका–धाप्लाङ क्षेत्रमा खिचिएको हो। तर शनिबार परेको हरिवोधनी एकादशीको अवसरमा उक्त फोटो पुनः सार्वजनिक भएपछि विषयले नयाँ रूप लिएको हो।
फोटो शेयर गर्दै रमेशराज वास्तोला नामका फेसबुक प्रयोगकर्ताले लामाको कडा आलोचना गरेका छन्। उनले लेखेका छन् — ‘उदयपुर चौदण्डीगढी नगरपालिकाका मेयरले तुलसीको मोठमाथि खुट्टा राखी फोटो खिचाएको घटना धार्मिक र सामाजिक रूपमा अति संवेदनशील छ। हिन्दू धर्ममा तुलसी माता पवित्रता र आस्थाको प्रतीक हुन्। तुलसीमाथि लात्ती हान्नु अपमानजनक र अशुभ कार्य ठहरिन्छ। नगरप्रमुखजस्तो जिम्मेवार पदमा रहेर यस्तो गैरजिम्मेवार व्यवहार गर्नु केवल व्यक्तिगत गल्ती होइन, सार्वजनिक आचरणको पतनको उदाहरण हो। धर्मनिरपेक्ष राज्यमा सबै धर्मको समान सम्मान गर्नुपर्ने संवैधानिक दायित्व छ, तर यस्तो कार्यले आस्थावान नागरिकको भावना गम्भीर रूपमा चोट पुगेको छ।’
वास्तोला मात्र होइन, धार्मिक समुदायदेखि सर्वसाधारणसम्मबाट उनको आलोचना भइरहेको छ। चौतर्फी विरोधपछि मेयर लामाले आफूविरुद्ध भएको आरोप ‘एआई प्रविधिबाट सिर्जना गरिएको नक्कली फोटो’ भएको भन्दै फेसबुकमै स्पष्टीकरण दिएका छन्।
लामाले लेखेका छन् — ‘आज हिन्दूहरूको महान सांस्कृतिक पर्व हरिबोधनी एकादशीको शुभ अवसरमा सबैलाई शुभकामना व्यक्त गर्छु। मेरो बदनाम गर्ने उद्देश्यले एआई प्रविधिको दुरुपयोग गरी तुलसीको मोठमा खुट्टा राखेको झैं देखिने फोटो सार्वजनिक गरिएकोमा म दुखित छु। सबै धर्मप्रति मेरो समान आस्था र विश्वास छ, त्यसैले सामाजिक सञ्जालमा फैलाइएको गलत प्रचारप्रति विश्वास नगरिदिनुहोला।’
तर, प्रविधि विज्ञहरूका अनुसार लामाले बचाउको लागि प्रयोग गरेको ‘एआई फोटो’ को दाबी तथ्यहीन छ। उनीहरूले उक्त तस्बिरमा कुनै डिजिटल छेडछाड नदेखिएको र यो ‘ओरिजिनल फोटो’ नै भएको दाबी गरेका छन्।
तुलसीको धार्मिक महत्व र कथा
सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ। विष्णु पुराणमा वर्णन गरिएको कथाअनुसार, असुर जालन्धरकी पत्नी वृन्दाको पतिव्रत शक्तिले शिवले जालन्धरलाई पराजित गर्न नसकेपछि, भगवान् विष्णुले जालन्धरको रूप धारण गरी वृन्दाको पतिव्रत धर्म भङ्ग गराए। वृन्दाले छलबाट गरिएको त्यो कार्य थाहा पाएपछि विष्णुलाई श्राप दिइन् — ‘तिमी शीला, रुख, झारपात र घाँस भएर जन्म लिनु।’ यही श्रापका कारण विष्णु भगवान् शालीग्राम (शीला), पीपल (रुख), तुलसी (झार) र कुश (घाँस) का रूपमा पृथ्वीमा प्रकट भएका थिए।
त्यसपछि तुलसीलाई विष्णुकी प्रिय देवी र लक्ष्मीको स्वरूपका रूपमा पनि पूजिन्छ। कतिपय पुराणहरूमा तुलसीलाई गोलोकमा कृष्णसँग लीलामा संलग्न भएकी देवीको रूपमा वर्णन गरिएको छ, जसले राधाको श्रापपछि पृथ्वीमा अवतार लिनुपरेको थियो। त्यसैले तुलसी हिन्दू समाजमा आस्था, पवित्रता र घरको समृद्धिको प्रतीक मानिन्छ।
त्यसैले, मेयर लामाले धार्मिक प्रतीकमाथि गरेको कार्यको आलोचना राजनीतिक विवादभन्दा धेरै सांस्कृतिक र आस्थासँग सम्बन्धित मुद्दा बनेको छ। जनप्रतिनिधिले संवेदनशील धार्मिक प्रतीकको अपमान गरेको आरोपले स्थानीयस्तरमा मात्र होइन, देशव्यापी बहस सुरु भएको छ।



