६४ वर्षीय पुजारीको गोली हानी हत्या, ७५ वर्षीय थोकर पक्राउ
हेटौंडा– पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा शुक्रबार बिहान एक जना पुजारीको गोली हानी हत्या गरिएको छ। ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारी स्थानीय ६४ वर्षीय ठूले गोलेको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता राजुप्रसाद कुर्मीका अनुसार, गोलेको हत्या आरोपमा ७५ वर्षीय इमानसिंह थोकर पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मनहरी र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले घट्नास्थलबाट करिव १ किलोमिटर टाढाबाट थोकरलाई पक्राउ गरेको हो।
पक्राउ परेका थोकरको साथबाट कटुवा पेस्तोल, दुई राउण्ड गोली, खोका र १९० ग्राम गनपाउडर बरामद भएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार, यो हत्या पुरानो रिसइबीका कारण भएको प्रहरीको भनाइ छ। थोकरको गोली प्रहारबाट गोलेको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीले घटनाको विस्तृत छानबिन अघि बढाएको छ।

