रवि लामिछानेलाई थाहै नदिई सन्तोषले छोडे रास्वपाः समानुपातिक सांसद बन्ने बाटो बन्द भएपछि विकल्पको खोजी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र अचानक सुरु भएको नयाँ हलचलले पार्टी नेतृत्वलाई नै आश्चर्यचकित बनाएको छ। सभापति रवि लामिछानेलाई कुनै औपचारिक जानकारी नदिई केन्द्रीय सदस्य सन्तोष परियारले पार्टी त्याग गरेको घोषणा गरेपछि रास्वपाको आन्तरिक वृत्तमै सन्नाटा छाएको छ।

आफ्नो भूमिकामा सक्रिय मानिएका परियारले अचानक पार्टीबाट राजीनामा दिएको घोषणा गरेपछि नेतृत्व पंक्ति आश्चर्यमा परेको छ। उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन्। यो प्रकरणपछि पार्टीभित्र प्रश्नको वाढि आएको छ।

पार्टीभित्र अहिले परियारले पार्टी छोड्नुलाई तीन कोणबाट विश्लेषण भइरहेका छन। पहिलो, व्यक्तिको व्यक्तिगत महत्वाकांक्षा, दोस्रो, संगठनमा बढ्दो नीतिगत असन्तुष्टि, र तेस्रो, नेतृत्वले उपेक्षा गरेको अनुभूति। यिनै कारणले रास्वपाको स्थिरता र आन्तरिक एकता नै चुनौतीमा परेको टिप्पणी राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन्।

बेलाबेला ‘फरक ध्वनि’ सुने पनि यसपटकको राजीनामा एकदमै आकस्मिक भएकाले पार्टीको संगठनात्मक वृत्तिमा असर परेको देखिन्छ। भूमिकामा रहेर काम गरिरहेका कार्यकर्ताहरूले समेत अहिले ‘आफ्नै पार्टीमा किन असन्तुष्टि बढ्दैछ?’ भन्ने चासो ब्यक्त गरिरहेका छन्।

रास्वपा नेतृत्वले भने तत्काल औपचारिक वक्तव्य दिएको छैन। आन्तरिक समीक्षापछि मात्र स्पष्ट धारणा सार्वजनिक गर्ने तयारी रहेको नेताहरुले वताएका छन्। तर अहिले पार्टी कार्यालयमा छाएको मौनताले धेरै कुरा बोलिरहेको विश्लेषकहरु वताउँछन्।

सन्तोष रास्वपाभित्र सभापति लामिछानेका प्रिय पात्रमध्ये एक थिए। उनी पछिल्ला दिनमा माओवादी नेता जनार्दन शर्मासँग हिमचिममा छन् भन्ने केही नेताहरुले सुईंको पाएका थिए। तर, पार्टी नै छोडछन् भन्ने कसैलाई लागेको थिएन।

हालै चितवनमा भएको रास्वपाको विस्तारित वैठकमा परियार केही असन्तुष्ट देखिएका थिए। उनले विस्तारित वैठकको पहिलो सत्रमा आफना कुरा राख्न खोजेपछि समय आउन ढिलो भयो। त्यसपछि निस्किएका उनी सिधा जनार्दनको सम्पर्कमा पुगे। त्यसपछि तारन्तार बैठकमा थिए। पार्टी छोड्दै गर्दा उनले कुनै असन्तुष्टि पनि राखेका छैनन् । राजीनामापत्रमा घुमाउरो ढंगले परियारले लेखेका छन्, ‘रास्वपाको सदस्य भइरहँदा मैले पार्टी र देशको हितमा इमान्दार प्रयत्न गरेको छु। निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा आफ्नै कमजारीका रुपमा लिएको छु।’

परियारले जेनजी आन्दोलनले यथास्थितिमा अब नेपालको राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको बताएका छन्। राजीनामापत्रमा रास्वपा नेतृत्वलक्ष्यित कुनै पनि टिप्पणी छैन। तर, उनको प्रमुख असन्तुष्टि भनेको ‘समानुपातिक चुनावमा कसैलाई पनि नदोहोर्याउने पार्टी नीति’ प्रति रहेको आँकलन गरिएको छ।

परियार दलित कोटाबाट रास्वपाका समानुपातिक सांसद बनेका थिए। पार्टीको विधानमा नै एउटा चुनावमा समानुपातिक सांसद बनेकालाई अर्कोपटकको चुनावमा समानुपातिक सूचीमा नराख्ने उल्लेख छ। रास्वपाले यो नीति सच्याउनुपर्ने पक्षमा परियार थिए। लगातार दुईपटकसम्म समानुपातिक सुचीमा राख्न सकिने व्यवस्था गर्नुपर्नेमा उनले भित्रीरुपमा लविङ गर्दै आएका थिए। तर, विस्तारित वैठकले पनि यही नीतिलाई निरन्तरता दिएपछि उनी निराश बनेको स्रोतको दावी छ।

अर्कोतर्फ, रवि लामिछानेले खेपिरहेको मुद्दामा परियार अरु नेताहरुजस्तो आक्रामक भएर प्रतिरक्षामा बोलेका थिएनन्। रविलाई भेट्न कारागार पनि गएनन्। जेनजी आन्दोलनको आवरणमा रवि बाहिर निस्किएकोप्रति उनले असन्तुष्टी देखाएपनि सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएनन्।

परियार भक्तपुरको गुण्डुमा जन्मेका थिए। उनको राजनीतिक यात्रा एमालेबाट सुरु भएको हो। एमाले र माओवादी मिलेर नेकपा बन्दासम्म पनि उनी त्यसैमा थिए। नेकपा विभाजित भएपछि केपी ओलीले गरेको संसद विघटनविरुद्ध नागरिक आन्दोलनमा पुगे।

२०७९ सालको आम निर्वाचनमा रास्वपालाई समानुपातिकमा दलित उम्मेदवार चाहिने भएपछि उनलाई प्रस्ताव गर्यो। त्यसपछि उनी रास्वपामा प्रवेश गरेका हुन्। सांसद पद गुमेसँगै उनले पार्टी पनि त्यागेका छन्।

यसअघि रास्वपाबाट मन्त्री समेत भएकी सुमना श्रेष्ठले पनि पार्टी छोडेकी थिईन। उनलाई ‘अवसरवादी’ को ट्याग लागेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट