धनुषामा प्रहरीको बन्दुक जनप्रतिनिधिको छातिमाः बिदामा आएका सहायक हवल्दारद्वारा वडाध्यक्षको हत्या
जनकपुर- धनुषाको मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा शुक्रबार साँझ स्थानीय प्रकाश यादवको बुबाको नौकेश (९ दिने संस्कार) को भोज एकैछिनमा त्रासदीमा बदलियो । भोजको बीचमा झडप हुँदा बिदामा घर आएका प्रहरी सहायक हवल्दार शम्भु यादवले सोही वडाका वडाध्यक्ष बिन्देश्वर यादवको छातीमा गोली प्रहार गरेर हत्या गरे। यो घट्नाले गाउँ नै स्तब्ध छ।
सप्तरीको पकरी प्रहरीचौकीमा कार्यरत शम्भु यादव केही दिनका लागि घर आएका थिए। उनले कटुवा पेस्तोलबाट सार्वजनिक भोजस्थलमै निर्वाचित जनप्रतिनिधिमाथि गोली चलाउनुले प्रहरी संगठनको नैतिकता र जिम्मेवारीबारे गम्भीर प्रश्न खडा गरेको छ।
भोजमा वडाध्यक्ष बिन्देश्वर यादव दाइ रामनाथ र भाइ अशेश्वरसहित उपस्थित थिए। प्रत्यक्षदर्शीका अनुसार वातावरण सामान्य नै थियो, तर स्थानीय धर्मनाथ यादव एकाएक गालीगलौज गर्दै प्रवेश गरेपछि माहौल तनावग्रस्त बन्यो। ‘किन गाली गर्नुहुन्छ?’ भनेर वडाध्यक्षका भाइले सोध्नासाथ विवाद चर्कियो र झडप सुरु भयो।
झडप बढ्दै जाँदा धर्मनाथका नातेदार ४–५ जनाको समूह लाठी, खुकुरी र पेस्तोलसहित भोजमा आईपुगे। भिडभाडमा उत्पन्न तनाव न्युनिकरण गर्न वडाध्यक्ष बिन्देश्वर यादव अघि बढेका थिए। तर यही बेला धर्मनाथका काकाका छोरा पर्ने शम्भु यादवले कटुवा पेस्तोल निकालेर वडाध्यक्षको छातीमा नजिकैबाट गोली हाने।
गम्भीर घाइते वडाध्यक्षलाई जनकपुरस्थित प्रादेशिक अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भयो। वडाध्यक्षलाई जोगाउने क्रममा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगम कुँवरले जानकारी दिए। सबैको उपचार जनकपुरमा भइरहेको छ।
प्रत्यक्षदर्शीको वयान र प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार वडाध्यक्ष र धर्मनाथको पुरानो राजनीतिक रिसइबी र व्यक्तिगत इगोले यो घटनाले डरलाग्दो रूप लिएको आशंका छ। धर्मनाथ नेकपा एमाले वडा कमिटीका अध्यक्ष हुन्। वडाध्यक्ष बिन्देश्वर यादव भने २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। स्वभावले मिलनसार मानिँदै आएका उनी एक वर्षअघि मात्र नेता रघुवीर महासेठको हातबाट टिका लगाएर एमाले प्रवेश गरेका थिए।
०७४ मा पनि उनी तत्कालीन फोरम नेपालबाट निर्वाचित भएका थिए। घटनापछि प्रहरीले धर्मनाथ यादव र शम्भु यादवलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

