इश्वर, सुरेन्द्र, योगेश र गोकुलको विषयमा ओलीले भने– यिनीहरूले केही लछारपाटो लाउँदैनन्
काठमाडौँ— नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलन कुनै स्वतःस्फूर्त युवा आवाज नभई सत्ता पक्षले नै तयार पारेको नाटक भएको आरोप लगाएका छन्।
गुण्डुस्थित निवासमा प्रेस चौतारी नेपालका नेताहरूसँग भएको छलफलमा ओलीले सरकारकै भान्सामा जेन–जी आन्दोलनको स्क्रिप्ट लेखिएको र युवाहरूलाई उचालेर देशभर तमासा गरिएको टिप्पणी गरे।
ओलीका अनुसार जेन–जी आन्दोलनका मागपत्रदेखि भाषण स्क्रिप्टसम्म सरकारी व्यक्तिहरूकै निर्देशनमा तयार पारिएको छ। उनले भने, ‘जेन–जीहरूका नाममा कलाविहीन नाटक चलाइएको छ। कसले मागपत्र लेखिदियो, कहाँ बोलाएर पढाइयो, हातमा मागपत्र कसले थमाइदियो—सबै थाहा छ। बिनापैसा तमासा हेर्न पाइएको छ।’
उनले सरकारको बढी ध्यान जेन–जीका नाममा राजनीतिक दलका नेताहरूलाई बदनाम गर्न खर्च भईरहेको आरोप लगाए। ‘यो सरकारले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्नु हो भनेर बुझेको छ,’ ओलीको भनाइ थियो।
ओलीले जेन–जी आन्दोलनलाई उद्देश्यहीन र आवेग मात्रमा आधारित गतिविधि भएको बताए। उनका अनुसार सरकार घेराबन्दी देखियोस् भनेर केही युवालाई भेला पारेर १०–२० जनालाई ‘दबाब समूह’ जस्तै प्रस्तुत गर्ने खेल भइरहेको छ। उनले मुलुकका महत्वपूर्ण चुनौती र चुनावभन्दा सरकारले ‘ड्रामा’ रोजेको आरोप लगाए।
प्रेस चौतारीका नेताहरूले केही शीर्ष नेताको गतिविधिबारे ओलीलाई जानकारी गराएको स्रोतले जनाएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका सामग्रीका स्क्रिनसर्ट तथा भिडियो समेत ओलीलाई देखाइएको बताइन्छ।
ओलीले उनीहरूको गतिविधिबारे टिप्पणी गर्दै ‘यिनीहरूले केही लछारपाटो लगाउँदैनन’ भन्दै जवाफ दिएको स्रोतको दाबी छ। ओलीले अवकाश प्राप्त भएसँगै निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको पासपोर्ट रोक्का र स्थानहद तोकिएको विषयमा पनि आपत्ति जनाए। उनले यस्तो कदम वर्तमान आईजीपीलाई डर देखाउने उद्देश्यले उठाइएको आरोप गरे।
ओलीले भने, ‘हिजोसम्म देशको शान्ति–सुरक्षा जिम्मा लिएको व्यक्तिलाई आज कतै पनि जान नदिनु योभन्दा ठूलो मजाक के हुन्छ? सरकार नियम–कानुन कार्यान्वयन हुन नदिने, निर्दोषलाई थुन्ने र दोषीलाई छाड्ने बाटोमै लागेको छ।’
ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक ढङ्गले अनधिकृत व्यक्तिको सिफारिसमा गरिएको दाबी पुनः दोहोर्याए। अन्त्यमा ओलीले आफू सत्य बोल्ने र जीवनभर देश निर्माणका लागि लडिरहने बताए। ‘यसलाई कसैले दम्भ भन्यो भने पनि घट्दैन। देश बनाउने उद्देश्यमा कमी आउँदैन’ उनले भने।

