प्रहरी नियन्त्रणमा रहेका ब्यक्ति वेपत्ता पारेको अभियोगमा असईसहित दुई प्रहरी कारागार चलान

काठमाडौं– प्रहरी नियन्त्रणमा रहेका ब्यक्तिलाई बेपत्ता बनाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय रसुवाका असई रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू कारागार चलान भएका छन्।
जिल्ला अदालत रसुवाको आदेशमा उनीहरुलाई कारागार चलान गरिएको हो। ८ कात्तिकमा गते गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका ४२ वर्षीय काले भन्ने छिरिङ तामाङलाई नियन्त्रणमा लिएर बेपत्ता बनाएको अभियोग उनीहरुमाथि छ।
थुमनबाट जिल्ला प्रहरी कार्यालय धुञ्चे लाने क्रममा रोङ्गा दोभानको नजिक उत्तरतर्फको भिरबाट तामाङलाई बेपत्ता बनाएको आरोपमा उनीहरु पक्राउ परेका थिए। सुरक्षा संयन्त्र नअपनाई पक्राउ गरिएका नागरिक बाटोमा बेपत्ता पारेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत उनीहरु विरुद्ध मुद्दा दायर भयो।
अदालतले पछि ठहरेबमोजिम हुनेगरी उनीहरुलाई धरौटीसहित तारेखमा छोड्ने आदेश दिएको थियो। तर, तोकिएको जनही ६ लाख ५० हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि ती दुई प्रहरी कारागार चलान भएका हुन्। उनीहरुले भने मोटरसाईकलमा राखेर जिल्ला लाने क्रममा तामाङले प्रहरीको मोटरसाईकल लडाएर फरार भएको र भोटेकोसी नदीमा हामफालेर वेपत्ता भएको वताउँदै आएका छन्।
यस्तै मानिस बेपत्ता बनाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका गोसाइँकुण्ड गाउँपालिका–१ का वडाध्यक्ष उर्केन छिरिङ तामाङलाई ५ लाख तथा दावा ग्याल्जेन तामाङलाई ३ लाख धरौटीमा रिहा गरिएको छ। उर्केनले थुमनबाट धुञ्चे जानका लागि गाउँमा सवारीसाधनको व्यवस्था गरिदिएको जनाईएको छ।
पीडित तथा आफन्तले भने षड्यन्त्रपूर्वक मानिस बेपत्ता पारिएको आरोप लगाउँदै दोषीउपर कारबाहीका लागि सडक सङ्र्घषसमेत गरेका थिए। वडाध्यक्ष उर्केनलाई धरौतीमा छोड्ने आदेश विरुद्ध अदालतमा ढुङ्गामुढा समेत भएको थियो। सो क्रममा तीन प्रहरी घाईते भएका थिए।
सम्बन्धित खबर
आदेश चित्त नबुझ्दो नभएको भन्दै अदालतमै ढुंगामुढा, सईसहित ३ जना प्रहरी घाईते