डेढ लाख घुस मागेपछि गाउँपालिका इन्जिनियरलाई ठेकेदारको बाघेझाप्पु

काठमाडौं– सडकको गुणस्तरका विषयमा विवाद हुँदा कञ्चनपुरको लालझाडी गाउँपालिकाका इन्जिनियर रामप्रसाद अवस्थीलाई सोमबार एक ठेकेदारले कुटपिट गरेका छन्।
गत आर्थिक वर्ष ०७९/०८० मा कञ्ज गाउँमा एक किलोमिटर कालोपत्रे गर्ने ठेक्का पाएको कन्दकला कन्स्ट्रक्सन प्रालिका सञ्चालक भीमबहादुर रानाले अवस्थीलाई कुटपिट गरेका हुन्।
ठेक्कामा गुणस्तरको विषयलाई लिएर प्रश्न गर्दा आफूलाई फिल्डमै बोलाएर रानाले कुटपिट गरेको इन्जिनियर अवस्थीले बताएका छन्। रानाले भने कुटपिट गरेको विषय सत्य नभएको बताए।
योजनाको सुरुवाती चरणदेखि नै इन्जिनियर अवस्थीले आफूसँग डेढ लाख घुस मागेको र नदिएपछि विभिन्न वहानामा दुःख दिएको बताएका रानाले सोही विषयको छलफलका क्रममा सामान्य धकेलाधकेल भएको उनको बताए।
लालझाडीका अन्य निर्माण व्यवसायी एवं उपभोक्ताहरूले पनि यसअघि इन्जिनियर अवस्थीले घुसविना कामै नगरिदिने र दुःख दिने गरेको आरोप लगाउँदै आएका थिए।
ठेकेदारबाट कर्मचारी कुटिएको विषयमा पालिकाका अन्य कर्मचारीले भने विरोध जनाएका छन्। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन कञ्चनपुरका अध्यक्ष खगेन्द्र पण्डितले कर्मचारीमाथि कुटपिट निन्दनीय र भर्त्सनायोग्य भएको बताए।
अध्यक्ष पण्डितले कर्मचारीले गल्ती नै गरेको भए पनि कारबाहीका लागि सम्बन्धित ठाउँमा उजुरी गर्नुपर्नेमा जोड दिए।
कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जनप्रसाद भट्टले निर्माण व्यवसायीले गुणस्तरीय काम गर्नुपर्ने, कर्मचारीलाई कुटपिट गर्न नहुने र कर्मचारीले अनुचित प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ रकम माग्न नहुने बताएका छन्। ‘यदि इन्जिनियरले निर्माण व्यवसायीबाट घुस मागेर उनलाई दुःख दिएको विषय सत्य भए भ्रष्टाचार र गलत कार्य हो,’ अध्यक्ष भट्टले भने, ‘निर्माण व्यवसायीले पनि गुणस्तरीय काम नगरेर कुटपिट गरेको भए त्यो पनि गलत हो।’