घुस लिँदालिदै कार्यालयमै पक्राउ परेका कल्याणपुरका तत्कालीन मेयर रामपुकार साहलाई ६ महिना कैद

लहान— सिरहाको कल्याणपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्। सेवाग्राहीसँग घुस लिएको प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेका साहलाई अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले साहले भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीत कार्य गरेको ठहर गरेको छ। अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार साहलाई ऐनको दफा ३ को उपदफा (१) अन्तर्गत दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र सोही दफाको उपदफा (ख) बमोजिम छ महिना कैद सजाय सुनाइएको हो।

अख्तियारका अनुसार साहले कल्याणपुर नगरपालिका–६ मा सञ्चालन भएको नाला निर्माण योजनाको कार्य सम्पन्न भइसकेपछि भुक्तानीको चेक उपलब्ध गराउने क्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग घुस मागेका थिए। सोही क्रममा उनले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा गत असार ३२ गते आफ्नै कार्यालयबाट अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो।

घुस लिएको स्पष्ट प्रमाणका आधारमा अख्तियारले गत साउन २३ गते साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको थियो। अदालतको फैसलाले स्थानीय तहका जनप्रतिनिधिहरूले सार्वजनिक पदको दुरुपयोग गर्दै योजनाका नाममा घुस असुल्ने प्रवृत्तिमाथि कडा सन्देश दिएको छ।

यसै प्रकरणमा बयान फेरेको आरोपमा मंसिर २६ गते उजुरीकर्तासमेत रहेकी उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। तर विशेष अदालतले उनलाई भने सफाइ दिएको छ।

अदालतको फैसलामा जसोधा कुमारीले प्रतिकूल बयान दिएको भए पनि मिसिलमा संलग्न अन्य प्रमाण, घुस लेनदेनको अवस्था र घटनाक्रमबाट रामपुकार साहले घुस लिई भ्रष्टाचार गरेको तथ्य निर्विवाद रूपमा स्थापित भइसकेको उल्लेख गरिएको छ। त्यसैले उजुरीकर्तालाई दोषी ठहर गर्न पर्याप्त आधार नपुगेको भन्दै उनलाई सफाइ दिने निर्णय गरिएको हो।

निर्वाचित नगरप्रमुख स्वयं घुस प्रकरणमा रंगेहात पक्राउ परेर दोषी ठहर हुनु स्थानीय तहमा व्याप्त भ्रष्टाचारको गम्भीर उदाहरण बनेको छ। विकास योजनाको नाममा सेवाग्राहीलाई दुःख दिने र सार्वजनिक पदलाई निजी आम्दानीको साधन बनाउने प्रवृत्तिविरुद्ध यो फैसला एउटा चेतावनीका रूपमा हेरिएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट