सप्तरीमा ऋण असुलीमा पुगेका बैंक कर्मचारीमाथि मोसो दल्ने र कुटपिट गर्ने टोलीको नेतृत्व उपमेयरले गरेको खुलासा

राजविराज— सप्तरीमा ऋण असुलीका लागि फिल्डमा खटिएका ज्योति विकास बैंकका कर्मचारीमाथि मोसो दल्ने र कुटपिट गर्ने घटनाको नेतृत्व सप्तकोशी नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक रिताकुमारी चौधरीले गरेको खुलासा भएको छ।

घटना सप्तरीको सप्तकोशी नगरपालिका–७ ओद्राहास्थित सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालि परिसरमा गत बुधबार भएको हो। ऋणीसँग संवाद गर्न र ऋण नियमितीकरणबारे छलफल गर्न पुगेका बैंकका दुई कर्मचारीमाथि सुनियोजित रूपमा मोसो दल्दै कुटपिट गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

ज्योति विकास बैंकको प्रादेशिक कार्यालय बर्दिवासका उप–प्रबन्धक सुमित श्रेष्ठ र रूपनी शाखाका कर्मचारी सविन श्रेष्ठ सो प्रालिमा पुगेका थिए। तर संवादको साटो उनीहरूलाई उपमेयर चौधरीसहित प्रालिका सेयरधनी तथा उनीहरूका आफन्तले घेराबन्दी गर्दै मोसो दल्ने, जुत्ताको माला लगाउने, गालीगलौज गर्ने र लट्ठीले कुटपिट गरेको भिडियोमा देखिन्छ। प्रालिका चार जना सेयरधनीमध्ये उपमेयर चौधरीका श्रीमान सञ्जिवकुमार चौधरी पनि एक हुन्। प्रभुनारायण चौधरी, पञ्चदेव चौधरी र उमाकान्त चौधरी पनि प्रालिका शेयरधनी हुन।

बैंकका सूचना अधिकारी प्रकाश बरालका अनुसार किस्ता कसरी नियमित गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न पुगेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको हो। ‘कर्मचारीको मनोबल तोड्ने उद्देश्यले मोसो दल्ने, अपमान गर्ने र कुटपिट गर्ने काम भएको छ,’ बरालले भने, ‘यस घटनाविरुद्ध बैंक कानुनी प्रक्रियामा अघि बढिसकेको छ।’

बैंकका अनुसार उक्त प्रालिले २०७८ वैशाख २३ गते बैंकबाट ४ करोड ५० लाख रुपैयाँ ऋण लिएको थियो। ऋण लिँदा प्रालिको नाममा रहेको ओद्राहास्थित ३ बिघा १४ कठ्ठा र कञ्चनरूप नगरपालिका–१२ मा रहेको १६ कठ्ठा ८ धुर जग्गा धितो राखिएको थियो। तर २०८१ चैत २८ पछि किस्ता नतिरेपछि बैंकले अघिल्लो शुक्रबार धितो लिलामीको सूचना निकालेको थियो।

सूचनाको म्याद पूरा हुन नपाउँदै बैंकले टिकटकमार्फत जग्गा बिक्रीसम्बन्धी विज्ञापन गरेको भन्दै प्रालिका सेयरधनीहरू आक्रोशित बनेका थिए। यही असन्तोषको परिणामस्वरूप बुधबार फिल्डमा पुगेका बैंक कर्मचारीमाथि आक्रमण भएको बताइन्छ।

प्रालिका सेयरधनी प्रभुनारायण चौधरीले भने अन्तिम समयमा ऋण चुक्ता गर्ने तयारी भइरहेको दाबी गरेका छन्। ‘ऋण लिँदा ओडीको ब्यवस्था गरिएको थियो। हामीले अहिलेसम्म झण्डै २ करोड बुझाएका छौं, त्यसमध्ये सावाँमा करिव ११/१२ लाख घटेको होला। यद्यपी हामी ऋण तिर्न तयारै थियौ।’ चौधरीले भने– ‘सूचनाको म्याद नसकिँदै जग्गा बिक्रीको प्रचार भएपछि आक्रोश बढेको हो, कर्मचारीमाथि कुटपिट हुनु गलत हो, म घटनास्थल पुग्दासम्म सब भइसकेको थियो।’

तर चौधरीले बैंकका कर्मचारीले कमिशनको लोभमा वातावरण बिगारेको आरोप पनि लगाए। ‘हामी कम्पनी बिक्री गरेर ऋण तिर्ने तयारीमा थियौं। यसबारे बैंकको केन्द्रीय कार्यालयलाई जानकारी गराइसकेका थियौं,’ उनले भने, ‘तर कर्मचारीहरूले षड्यन्त्र गर्दै मानसिक यातना दिए, टिकटकमार्फत मान–प्रतिष्ठामा आँच पुर्‍याए र एक हप्तामै लिलामी सक्ने तयारी गरे। यही कारण अवस्था विस्फोटक बन्यो, यद्यपि घटना जायज होइन।’

उपमेयर रिताकुमारी चौधरी घटनास्थलमा रहेको स्वीकार गर्दै कुटपिटमा संलग्न भए–नभएको जानकारी नभएको उनले दाबी गरे। ‘बैंकबाट पीडित भएपछि लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिलाई हारगुहार गरेका थियौं,’ उनले भजे ‘घटना उनीहरूको नेतृत्वमा भएको हो, हाम्रो भूमिका छैन।’

घटनापछि बैंकले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा सात जनाविरुद्ध अपहरण, शरीर बन्धक, कुटपिट र लुटपाट सम्बन्धी कसुरमा जाहेरी दर्ता गराएको छ। जाहेरीमा सेयरधनी प्रभुनारायण चौधरी, संजीवकुमार चौधरी, उनकी श्रीमती तथा उपमेयर रिताकुमारी चौधरी, छोरा सिरज चौधरी, पञ्चदेव चौधरी, प्रालिका ऋणी तथा सेयरधनी उमाकान्त चौधरी र रवीन्द्र स्वर्णकारको नाम उल्लेख छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले उपमेयर चौधरीको नाममा पनि जाहेरी परेको पुष्टि गरे। ‘घाइतेको घाउजाँचका लागि लेखेर दिइसकेका छौं, रिपोर्ट आउन बाँकी छ,’ काफ्लेले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ र दुवै पक्षबीच समन्वयको प्रयास पनि भइरहेको छ।’

घटनाबारे प्रतिक्रिया लिन खोज्दा उपमेयर चौधरीको मोबाइल फोन उठेन।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट