अख्तियार प्रमुखलाई ज्यान मार्ने धम्की दिने पाठकलाई स्वदेश ल्याइँदै, प्रहरीको विशेष टोली फिलिपिन्स पठाइने तयारी

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा फरार रहेका प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन्। उनलाई स्वदेश ल्याउन नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स जाने तयारीमा जुटेको छ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ का ३३ वर्षीय पाठक फिलिपिन्सको मालोलोस सहरबाट त्यहाँको ब्युरो अफ इमिग्रेसन (बीआई) को फरार अभियुक्त खोजी युनिटद्वारा नियन्त्रणमा लिइएका हुन्। बीआईले शनिबार उनलाई पक्राउ गरिएको आधिकारिक जानकारी सार्वजनिक गरेको थियो। नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट पाठकविरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको थियो भने जिल्ला अदालत काठमाडौंले समेत पक्राउ पुर्जी जारी गरिसकेको थियो।

प्रहरी स्रोतका अनुसार फिलिपिन्स सरकारले पाठकलाई निष्कासन (डिपोर्टेसन) प्रक्रियामा राखिसकेको छ र आवश्यक कागजी प्रक्रिया पूरा हुनेबित्तिकै नेपालबाट प्रहरी टोली पठाइनेछ। स्रोतले एक–दुई दिनभित्र टोली ‘मुभ’ हुने सम्भावना रहेको बताएको छ। हाल पाठक फिलिपिन्स अध्यागमनको हिरासतमा राखिएका छन्।

अनुसन्धानमा खुलेअनुसार पाठकले इमेल र फेसबुक भिडियो सन्देशमार्फत् अख्तियार प्रमुख राईलगायत कम्तीमा १० जना उच्चपदस्थ सरकारी अधिकारीलाई पटक–पटक ज्यान लिने धम्की दिएका थिए। उनले आफूलाई उग्रवादी संगठनको प्रमुखको रूपमा प्रस्तुत गर्दै राज्यलाई नै चुनौती दिने भाषा प्रयोग गरेको प्रहरीको भनाइ छ। यही गतिविधिका कारण काठमाडौं प्रहरीले उनका तीन जना सहयोगीलाई यसअघि नै पक्राउ गरिसकेको थियो।

फिलिपिन्सको अध्यागमन विभागले सार्वजनिक गरेको विवरणमा पाठकले फरार अभियुक्तलाई आत्मसमर्पण नगर्न उक्साउने, आर्थिक सहयोग गर्ने र हतियारसम्म पहुँच रहेको संकेत दिने अभिव्यक्ति दिएको उल्लेख छ। अध्यागमनको वेबसाइटमा उनी एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षडयन्त्रसँग समेत जोडिएको आशंका गरिएको छ, जसले घटनाको गम्भीरता अझै बढाएको छ।

प्रहरी अभिलेखअनुसार पाठकको आपराधिक इतिहास पनि सामान्य छैन। उनीविरुद्ध यसअघि सार्वजनिक अपराध, ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभसम्बन्धी कसुरमा चार पटकसम्म मुद्दा चलिसकेको देखिन्छ। यति गम्भीर पृष्ठभूमि भएका व्यक्ति लामो समयसम्म विदेश बसेर खुलेआम धम्की दिँदै हिँड्नु सुरक्षा निकायको निगरानी क्षमतामाथि पनि प्रश्न उठाउने विषय बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट