फेसबुक राजीनामादेखि एमाले टिकटसम्मः सत्ता र पार्टी फेर्दै आएका सतिश सिंहको विस्फोटक राजनीतिक फड्को

राजविराज — जनमत पार्टीबाट विद्रोह गरेर छुट्टै पार्टी गठन गरेका मधेश प्रदेश सरकारका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह अन्तिम समयमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्।

मधेशको अस्थिर सत्ता राजनीति, पार्टी परिवर्तन र विवादले भरिएका सिंहलाई एमालेले संघीय संसदमा उतार्दा त्यसले मधेशको राजनीति मात्र होइन, एमालेको रणनीतिलाई पनि गम्भीर प्रश्नको घेरामा ल्याएको छ।

सिंहको उम्मेदवारी रोचक र विवादास्पद छ। सप्तरी–२ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका सिंह एमालेबाट नभई सीके राउत नेतृत्वको जनमत पार्टीबाट मुख्यमन्त्री बनेका थिए। सिंह संसदीय दलका नेता समेत नभई मुख्यमन्त्री बनेका दुर्लभ उदाहरण हुन्।

सिंहको राजनीतिक यात्रा उतारचढावले भरिएको छ। ०७९ को निर्वाचनपछि जनमत पार्टीका अध्यक्ष राउतको निर्णयमा उनी मुख्यमन्त्री बने। तर भदौ २३ र २४ गतेको चर्चित ‘जेन–जी आन्दोलन’का क्रममा सिंहले फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरे। पछि भने राजीनामा नदिने भन्दै पछाडि हटेपछि जनमत पार्टीभित्र तीव्र विवाद चर्कियो। विवाद यति गहिरियो कि मुख्यमन्त्री सिंहकै नेतृत्वमा सरकार हुँदा जनमत पार्टी प्रदेशसभामा प्रतिपक्षीको बेन्चमा बसेको असामान्य अवस्था सिर्जना भयो।

पार्टीभित्रको द्वन्द्व बढ्दै जाँदा जनमतले सिंहलाई सरकारबाट फिर्ता बोलायो। त्यसपछि जनमत विभाजनको प्रयास, अदालतको हस्तक्षेप र पार्टी एकताको कानुनी रोकसँगै सिंह राजनीतिक रूपमा मौन बनेका थिए। लामो समय सार्वजनिक रूपमा निष्क्रिय देखिएका सिंह एकाएक एमालेको प्रत्यक्ष उम्मेदवार सूचीमा समेटिनु मधेश राजनीतिक वृत्तका लागि अप्रत्याशित बनेको छ।

सिंहको पृष्ठभूमि मधेशवादी राजनीतिसँग गहिरो रूपमा जोडिएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का स्थायी बासिन्दा सिंह ०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए। ०७९ को स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दिए पनि पराजित भएपछि उनले लोसपामा भविष्य नदेखेको भन्दै जनमत पार्टी रोजे। सीके राउतको प्रभावका कारण उनी प्रदेशसभा सदस्यमा सहजै निर्वाचित भए।

उनका पिता शेखरकुमार सिंह पनि मधेश आन्दोलन र मधेशवादी राजनीतिका पुराना खेलाडी हुन्। ०३५ सालदेखि राजनीतिमा सक्रिय शेखर सिंह विभिन्न मधेशवादी दल हुँदै राष्ट्रियसभा सदस्यसम्म पुगेका छन्। यही पारिवारिक र राजनीतिक विरासतले पनि सतिश सिंहलाई निरन्तर राजनीतिमा टिकाइरहेको विश्लेषण गरिन्छ।

जनमत पार्टीभित्र सिंहलाई मुख्यमन्त्री बनाउने निर्णयदेखि नै असन्तुष्टि थियो। संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री नबनाइएको भन्दै पार्टीभित्र चर्को असन्तोष देखिएको थियो। यादवले सामाजिक सञ्जालमा ‘इमान्दार मानिसले जीवनमा एउटै भूल गर्छ’ भन्ने कोटेशन पोस्ट गर्दै आफू इमान्दार भएकै कारण सत्ता गुमाएको संकेत गरेका थिए।

यही असन्तुष्टि, पार्टीभित्रको अविश्वास र विभाजनको प्रयासपछि सतिश सिंह एमालेतर्फ मोडिन पुगेका हुन्। एमालेले उनलाई प्रत्यक्ष उम्मेदवार बनाउनु केवल उम्मेदवारी होइन, मधेशमा जनमत पार्टीको प्रभाव खण्डित गर्ने राजनीतिक चालका रूपमा पनि हेरिएको छ।

पूर्वमुख्यमन्त्रीलाई संघीय संसदको उम्मेदवार बनाउँदै एमालेले मधेशमा बलियो उपस्थिति जमाउने प्रयास गरेको छ। तर उनको सत्ता अस्थिरता, पार्टी परिवर्तन र विवादको इतिहासले एमालेको यो निर्णय आगामी चुनावमा फाइदा हुन्छ कि उल्टै बोझ बन्छ भन्ने प्रश्न अझै खुला नै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट