हाइ–प्रोफाइल सप्तरीः अध्यक्षका दाजु, नेताकी छोरी र पार्टीभित्रको विद्रोहले चर्कायो चुनावी बहस

राजविराज — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन यसपटक हाई–प्रोफाइल भिडन्त, पार्टीभित्रको विद्रोह, पुस्तान्तरणको दाबी र खुला रूपमा देखिएको ‘नेपो राजनीति’को प्रयोगशाला बन्ने देखिएको छ। चारै निर्वाचन क्षेत्रमा उम्मेदवारको भीड मात्र होइन, उनीहरूले बोकेका राजनीतिक इतिहास, पारिवारिक पृष्ठभूमि, व्यक्तिगत महत्वाकांक्षा र संगठनात्मक द्वन्द्वले चुनावलाई असाधारण रूपमा चर्काएको छ।

सबैभन्दा पहिले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को कुरा गर्दा, यहाँ जनमत पार्टीले अध्यक्षका आफनै दाजु जयकान्त राउतलाई उम्मेदवार बनाएको छ। पार्टीको उपाध्यक्ष समेत रहेका राउत पछिल्लो समय संगठन निर्माण र पार्टी गतिविधिमा देखिएपनि उनको उम्मेदवारीलाई ‘स्वाभाविक राजनीतिक यात्रा’ भन्दा पनि वंशीय उत्तराधिकारको विस्तारका रूपमा हेरिएको छ।

‘पुरानो दलको परिवारवादको अन्त्य’ भन्ने नारा बोकेको पार्टीले आफ्नै अध्यक्षका दाजुलाई टिकट दिएपछि जनमत पार्टीको वैकल्पिक राजनीति र नैतिक उच्चतामाथि प्रश्न उठेको छ। यही क्षेत्रमा कांग्रेसका जिल्ला सभापति रामदेव साह, एमालेबाट पटक–पटक चुनाव लडे पनि पराजित हुँदै आएका तर संगठनमा अझै प्रभाव राख्ने सुमनराज प्याकुरेललगायतका २२ उम्मेदवार मैदानमा छन्। तर चुनावी बहसको केन्द्र भने जयकान्त राउत र सुमनराज प्याकुरेलको उम्मेदवारी र त्यसको चरित्रबारे उठाएको प्रश्न नै बनेको छ।

निर्वाचन क्षेत्र नम्बर २ सप्तरीकै सबैभन्दा चर्को र निर्णायक भिडन्तको केन्द्र बनेको छ। यहाँ जनमत पार्टीका अध्यक्ष सीके राउत आफैं उम्मेदवार छन्। २०७९ सालको निर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै ‘मधेशको नयाँ विकल्प’को रूपमा उदाएका सीके राउत योपटक भने बाह्य प्रतिस्पर्धाभन्दा बढी आफ्नै पार्टीभित्रको विद्रोहले घेरेका छन्। जनमत पार्टीका पूर्व प्रवक्ता शरदसिंह यादव र प्रदेशसभा सदस्य हुँदै मुख्यमन्त्रीसमेत बनेका सतिशकुमार सिंहले पार्टी छोडेर सीके राउतकै विरुद्ध उम्मेदवारी दिएपछि जनमत पार्टीभित्रको आन्तरिक असन्तुष्टि खुला चुनावी विद्रोहमा रूपान्तरण भएको छ।

यसै क्षेत्रबाट जसपा नेपालका उमेशकुमार यादव अनुभवी नेता र संगठित शक्तिका रूपमा मैदानमा फर्किएका छन्। अघिल्लो निर्वाचनमा पराजित भए पनि संगठन, जातीय समीकरण र राजनीतिक अनुभवका हिसाबले उमेशकुमार यादव यसपटक बलियो दाबेदार मानिएका छन्। सीके राउतका लागि यो निर्वाचन जित–हारभन्दा पनि नेतृत्व क्षमता, पार्टी एकता र वैकल्पिक राजनीतिको दाबी टिकाउने कि नटिकाउने भन्ने प्रश्नसँग जोडिएको छ।

यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले पूर्व माओवादी केन्द्रका नेता सुर्यनाथप्रसाद यादवलाई उम्मेदवार वनाएको छ। उनी माओवादीको जनयुद्धकालिन नेता हुन। यही क्षेत्रमा नेपाल जनता पार्टीकी रन्जु कुमारी झा ठाकुर पनि प्रतिस्पर्धामा छिन्। उनी नेकपा एमाले हुँदै जसपा र अहिले नेपाल जनता पार्टीमा आवद्ध भएकी हुन। एमालेको समानुपातिक कोटाबाट संविधान सभा सदस्य भएकी उनी त्यही बेला महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिको सभापति समेत भएकी थिइन्।

यहाँ राष्ट्रिय मुक्ति पार्टी नेपालका तर्फबाट राजविराज नगरपालिकाका पूर्व मेयर अनिस अन्सारी उम्मेदवार छन्। उनी अघिल्लो निर्वाचनमा जनमत पार्टीका तर्फबाट सप्तरी क्षेत्र नं. ३ मा उम्मेदवार भई तेस्रो भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ३ मा परम्परागत राजनीति र क्षेत्र परिवर्तनको बहस केन्द्रमा छ। कांग्रेसका पूर्व सभापति तथा वर्तमान सांसद दिनेश कुमार यादव पुनः निर्वाचन लड्दै छन्। उनलाई एमालेका पूर्व सांसद ताराकान्त चौधरी र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनौती दिइरहेका छन्। उपेन्द्र यादवले पाँचौँ पटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै सप्तरी–३ बाट उम्मेदवारी दिएपछि ‘नेतृत्व जोगाउन क्षेत्र सर्ने’ राजनीतिक प्रवृत्तिको आलोचना पनि चर्किएको छ। यो क्षेत्र अनुभव, संगठन र व्यक्तिगत राजनीतिक अस्तित्वको खुला प्रतिस्पर्धाको मैदान बनेको छ।

निर्वाचन क्षेत्र नम्बर ४ मा देखिएको प्रतिस्पर्धा भने पुस्तान्तरण र विरासत राजनीतिसँग जोडिएको छ। चार पटक निर्वाचित कांग्रेस नेता तथा पूर्व खेलकुद मन्त्री तेजुलाल चौधरी आफ्नो पुरानो प्रभाव कायम राख्ने प्रयासमा छन्। उनको सामना गर्दै एमालेका गंगा प्रसाद चौधरी, जनमत पार्टीका जितेन्द्र कुमार साह र जसपा नेपालकी केन्द्रीय नेतृ बबीसिंह यादव मैदानमा छन्। बबी सिंहको उम्मेदवारी पनि ‘नेपो राजनीति’को बहससँग अलग छैन।

उनी जसपा नेपालका उपाध्यक्ष तथा पूर्वमन्त्री मृगेन्द्र सिंह यादवकी छोरी हुन्। राजनीतिक वृत्तमा उनलाई बुबाको राजनीतिक विरासत सम्हाल्न अगाडि सारिएको अनुहारका रूपमा हेरिएको छ। यसअघि ‘पेस्तोल काण्ड’का कारण विवादमा आएकी बबी सिंहको उम्मेदवारीले यो क्षेत्रलाई अझै संवेदनशील बनाएको छ।

यो क्षेत्रमा नेपाली कम्युष्टि पार्टीले पूर्व प्रदेश सांसद तथा पूर्वमन्त्री रुबीकुमारी कर्णलाई उम्मेदवार वनाएको छ। उनलाई तत्कालिन माओवादी केन्द्रले समानुपातिक प्रदेश सांसद र मन्त्री बनाएको थियो। हाल उनकी वहिनी मालाकुमारी कर्ण समानुपातिक सांसद छिन्।

चारै क्षेत्रमा देखिएको साझा प्रवृत्ति स्पष्ट छ– पुराना स्थापित नेताहरू आफ्नो प्रभाव जोगाउने संघर्षमा छन्, नयाँ दलहरू वैकल्पिक राजनीतिको परीक्षा दिइरहेका छन्, पार्टीभित्रकै विद्रोहीहरूले नेतृत्वलाई चुनौती दिएका छन्, र राजनीतिक परिवारका सदस्यहरू खुला रूपमा मैदानमा उत्रिएका छन्। सप्तरीको चुनाव अब दलको झन्डाभन्दा बाहिर निस्केर नेतृत्वको नैतिकता, पार्टीभित्रको लोकतन्त्र र वंशीय राजनीतिप्रति मतदाताको धारणा परीक्षण गर्ने चरणमा पुगेको छ।

यस अर्थमा, फागुन २१ गतेको निर्वाचन सप्तरीका लागि केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन। यो नेपो राजनीतिलाई स्वीकार गर्ने कि नगर्ने, विद्रोही आवाजलाई दण्ड दिने कि वैधता दिने, र पुरानो राजनीतिक संरचनालाई निरन्तरता दिने कि नयाँ सन्तुलन खोज्ने भन्ने गहिरो राजनीतिक जनमतको दिन बन्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट