सप्तरी–२ मा सीके राउत घेराबन्दीमाः आफ्नै पार्टीका दुई विद्रोही उम्मेदवार र उमेश यादवको आक्रामक पुनरागमन

राजविराज — फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) गम्भीर राजनीतिक दबाबमा परेका छन्। अघिल्लो निर्वाचनमा ‘मधेशको नयाँ विकल्प’ का रूपमा उदाएका राउत योपटक भने आत्मविश्वासभन्दा बढी असहजता र रक्षात्मक राजनीतिमा सीमित देखिएका छन्।

राउत दबाब पर्नुको कारण भनेको ‘आफ्नै पार्टीभित्रको खुला विद्रोह र अनुभवी प्रतिस्पर्धीको बलियो पुनरागमन’ हो। जनमत पार्टीका दुई प्रभावशाली नेताले पार्टी परित्याग गर्दै उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएपछि सीके राउतको आधार क्षेत्रमै ठूलो चिरा परेको छ। सबैभन्दा पछिल्लो झटका जनमत पार्टीका पूर्व प्रवक्ता शरद सिंह यादवबाट आएको हो। पार्टीबाट अलग भएर नयाँ दल गठन गरेका यादवले सप्तरी–२ बाटै प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएपछि जनमत पार्टीभित्रको असन्तुष्टि औपचारिक रूपमा चुनावी विद्रोहमा रूपान्तरित भएको छ।

राउत स्वयं उम्मेदवार रहेको क्षेत्रमा शरदसिंहको उम्मेदवारीले जनमत पार्टीको संगठनात्मक कमजोरी उजागर गरेको छ। नीति, संगठन र नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै आएका यादव जेन–जी आन्दोलनपछिको आन्तरिक समीकरण बिग्रिएसँगै पार्टीबाट अलग भएका थिए। अब उनको उम्मेदवारीले सीके राउतको आधार क्षेत्रलाई नै प्रत्यक्ष रूपमा विभाजित गर्ने खतरा बढाएको छ।

शरदसिंह मात्र होइन, यसअघि नै जनमत पार्टीलाई अर्को ठूलो झड्का लागिसकेको छ। पार्टीकै टिकटबाट प्रदेशसभा सदस्य हुँदै मुख्यमन्त्रीसमेत बनेका सतिशकुमार सिंहले पार्टी र पद दुवै परित्याग गर्दै फरक दलबाट उम्मेदवारी दिएका छन्। संगठन, जातीय समीकरण र स्थानीय प्रभावका हिसाबले सतिश सिंह सीके राउतकै आधार क्षेत्रका बलिया नेता मानिन्छन्। उनको विद्रोहले जनमत पार्टीभित्र नेतृत्वप्रति असन्तुष्टि कति गहिरो छ भन्ने स्पष्ट संकेत दिएको छ।

यी दुई विद्रोहले सीके राउतको नेतृत्व शैलीमाथि गम्भीर प्रश्न त उठाएको छ नै, उनको राजनीतिक भविष्य माथी नै प्रश्नचिन्ह लगाएको छ। फरक मतलाई समेट्न नसकेको, निर्णय प्रक्रिया सीमित व्यक्तिमा केन्द्रित हुँदै गएको र संगठनभन्दा व्यक्तिकेन्द्रित राजनीति हावी भएको आरोप अहिले चुनावी मैदानमै प्रत्यक्ष देखिन थालेको छ। जनमत पार्टीको आन्तरिक असन्तुलन राउतका लागि सबैभन्दा ठूलो कमजोरी बनेको छ।

सीके राउतको चुनौती यतिमै सीमित छैन। अघिल्लो निर्वाचनमा राउतपछि दोस्रो स्थानमा रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टीबाट, त्यसबेला तेस्रो स्थानमा रहेका तत्कालीन माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री उमेशकुमार यादव यसपटक प्रतिस्पर्धामा उत्रिएका छन्। आफ्नो स्थायी जनाधार, राजनीतिक अनुभव र उपेन्द्र यादवको पार्टी संगठनको बलियो लहरका कारण उमेशकुमार यादव यसपटक अघिल्लो चुनावभन्दा धेरै सशक्त देखिएका छन्।

नयाँ प्रयोगभन्दा अनुभवी नेतृत्व रोज्ने मतदाताको मनोविज्ञान उमेशको पक्षमा देखिन थालेको छ। अघिल्लो निर्वाचनमा जनमत पार्टीको ‘क्षणिक उभार ’ ले ओझेलमा परेका यादव यसपटक स्थिर राजनीतिक विकल्पका रूपमा प्रस्तुत भएका छन्। जबकि सीके राउत भने आफ्नै पार्टीका दुई विद्रोही उम्मेदवारको चेपुवामा परेर मत जोगाउने संघर्षमा सीमित देखिन्छन्।

२०७९ सालको निर्वाचनमा सीके राउतले ३५ हजारभन्दा बढी मत ल्याउँदै परम्परागत दललाई पराजित गरेका थिए। त्यो जित मधेशमा स्थापित नेतृत्वप्रतिको आक्रोश र नयाँ विकल्पप्रतिको अपेक्षाको परिणाम थियो। तर, चुनावपछि जनमत पार्टीले त्यो जनविश्वासलाई संगठन र निरन्तर राजनीतिक उपस्थितिमा रूपान्तरण गर्न सकेन। यही कमजोरी अहिले पार्टीभित्रै विद्रोहका रूपमा सतहमा आएको छ।

आज सप्तरी–२ को चुनाव बाह्य प्रतिस्पर्धाभन्दा बढी जनमत पार्टीको आन्तरिक विघटनको असरमा देखिन थालेको छ। अर्कोतर्फ, अनुभवी र संगठित संरचनासहित मैदानमा उत्रिएका उमेशकुमार यादव क्रमशः बलियो दाबेदारका रूपमा अगाडि बढिरहेका छन्।

यसपटकको निर्वाचन सीके राउतका लागि पुनः इतिहास दोहोर्याउने अवसरभन्दा पनि नेतृत्व, संगठन र भरोसाको कठोर परीक्षा बनेको छ। बदलिँदो राजनीतिक धार र सशक्त प्रतिस्पर्धीको उपस्थितिले सप्तरी–२ मा सीके राउत कमजोर देखिन थालेका छन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट