घरदैलो उल्ट्याउँदै बालेनको ‘डेरा राजनीति’: झापा–५ मा भिडको बाढी, ओलीको गढमा ठूलो कम्पन
राजविराज — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ५ को चुनावी माहोल असामान्य बन्दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन साहले परम्परागत चुनावी शैलीलाई उल्ट्याउँदै सञ्चालन गरेको अभियानले यहाँको राजनीति नै फरक दिशातर्फ मोडिएको छ।
अन्य उम्मेदवार मतदाताका घर–घर पुगेर भोट मागिरहेका बेला बालेन भने दमक–५ स्थित लक्की सिटौलाको घरलाई सम्पर्क कार्यालय बनाएर त्यहीँ बसेका छन्। तर दृश्य उल्टो छ—नेता मतदाताकहाँ होइन, मतदाताहरू नै उनलाई भेट्न ‘डेरा’ धाइरहेका छन्। बुधबार बिहानदेखि साँझसम्म बालेन बसिरहेको घर वरिपरि उनलाई हेर्न, भेट्न र फोटो खिच्न चाहनेहरूको ठूलो भिड देखियो। सुरक्षा स्रोतका अनुसार एकै दिन झन्डै तीन हजार मानिस बालेनलाई भेट्न त्यहाँ पुगेका थिए।
मंगलबार उम्मेदवारी दर्ता गरेपछि बुधबार दिनभर बालेनले डेरामै बसेर शुभचिन्तक, समर्थक र विभिन्न दलका कार्यकर्तासँग भेटघाट गरे। रास्वपाका झापा, मोरङ र सुनसरीका उम्मेदवार मात्र होइन, अन्य दलका कार्यकर्तासमेत उनलाई भेट्न पुगेको सचिवालय स्रोत बताउँछ। सोही क्रममा एमाले निकट युवा संघ दमक नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहितको टोली रास्वपामा प्रवेश गरेको बताइएको छ।
भेटघाटका क्रममा बालेनले भने आफ्नो चुनावी एजेन्डा खासै अघि सारेनन्। भेट्न आउनेहरूको कुरा ध्यान दिएर सुन्ने, उनीहरूका गुनासा र सुझाव ग्रहण गर्ने शैलीमा उनी देखिए। बालेनलाई भेटेर फर्किएका एक शुभेच्छुकले भने, ‘बालेनजीले आफ्ना कुरा भन्दा पनि हाम्रो कुरा धेरै सुन्नुभयो।’ कतिपय मिडियाले यसलाई ‘बालेनको घरदैलो’ भने पनि वास्तविकता भने मतदाताहरू नै उनको डेरामा पुगेको थियो।
दमकको भेटघाटपछि बरु, बालेन पूर्वी पहाडी जिल्लातर्फ लागेका छन्। बुधबार साँझ इलाम पुगेका उनी त्यहाँ छलफलपछि पाँचथरको फिदिम पुगेर कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। त्यसपछि ताप्लेजुङस्थित पाथीभरा माताको दर्शन गर्ने र त्यहाँका मतदातासँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।
बालेनको यो फरक अभियान शैलीले झापा–५ मा नयाँ राजनीतिक तरंग पैदा गरिरहेका बेला नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने आफ्नो परम्परागत गढ जोगाउन आक्रामक रूपमा मैदानमा उत्रिएका छन्। दमकमा आयोजित राष्ट्रिय युवा संघको भेलामा ओलीले ‘नयाँ अनुहार’ र ‘हाइप’ को राजनीति प्रति कडा टिप्पणी गरे। उनले २०६४ सालको संविधानसभा निर्वाचन स्मरण गर्दै नयाँलाई मौका दिँदा देश विकासमा पछि परेको दाबी गरे।
ओलीले मतदातालाई बैंकको नोटको उदाहरण दिँदै धितो र जमानी बिना देश चलाउने मान्छे रोज्न नहुने तर्क गरे। बालेनको नाम नलिई सामाजिक सञ्जालको लहर र ‘पर्यटक उम्मेदवार’को अवधारणाप्रति सचेत रहन आग्रह गरे। साथै, आफूले झापा क्षेत्रमा गरेका विकास निर्माणका कामहरूको सूची प्रस्तुत गर्दै एमालेको योगदानलाई जोड दिए।
सुकुमबासी मुद्दालाई समेत चुनावी बहसमा ल्याउँदै ओलीले काठमाडौँमा गरिएको डोजर अभियानको सन्दर्भ जोडेर झापाका सुकुमबासी डराउन नपर्ने बताए। एमाले छउन्जेल कसैले सुकुमबासीको घरमा डोजर चलाउन नसक्ने उनको दाबी थियो।
एकातिर बालेनको भीड तान्ने, मौन र प्रतीकात्मक अभियान, अर्कोतिर ओलीको अनुभव र विकासको दाबी। यी दुई शैलीको टकरावले झापा–५ को चुनावलाई विशेष बनाएको छ। मतदाताको घर नधाई पनि मतदातालाई आफूकहाँ तान्ने बालेनको रणनीतिले परम्परागत चुनावी गणितलाई चुनौती दिइरहेको छ।

