जितका लागि मतदाता त्याग्ने फोहोरी राजनीतिः प्रचण्डदेखि उपेन्द्रसम्म उस्तै रोग– पाँच चुनाव, पाँच क्षेत्र
राजविराज— जित सुनिश्चित गर्न क्षेत्र फेर्दै हिँड्ने प्रवृत्ति नेपाली राजनीतिमा पुरानै हो। तर यो अभ्यासलाई ‘रणनीति’को नाम दिएर निरन्तर दोहोर्याउने पात्रमध्ये नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबैभन्दा प्रस्ट उदाहरण मानिन्छन्। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनी रूकुम पूर्वबाट उम्मेदवार बनेका छन्।
संसदीय राजनीतिमा प्रवेश गरेयता प्रचण्डका लागि यो पाँचौं निर्वाचन हो। तर पाँचै चुनावमा फरक–फरक क्षेत्र रोज्नु उनको राजनीतिक पहिचान नै बनेको छ। मतदातासँग दीर्घकालीन सम्बन्धभन्दा ‘जहाँ जित सहज हुन्छ, त्यहीँ उम्मेदवारी’ दिने यो शैलीलाई आलोचकहरूले अवसरवादको पराकाष्ठा मान्दै आएका छन्।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड रोल्पा–२ र काठमाडौं–१० दुवैबाट उम्मेदवार बने। दुवै स्थानबाट जितेपछि उनी राष्ट्रिय राजनीतिमा शिखरमा पुगे। तर २०७० मा काठमाडौं–१० दोहो¥याउँदा मतदाताले उनलाई अस्वीकार गरे। पराजयको चोट उनले सिराहा–५ बाट झिनो मतान्तरको जितले थेग्न सके।
२०७४ मा चितवन–३, २०७९ मा गोरखा–२ र अहिले रूकुम पूर्व। पाँच चुनाव, पाँच क्षेत्र। यसले प्रचण्डलाई ‘आधार क्षेत्र’ भन्दा पनि ‘सुरक्षित क्षेत्र’ खोज्दै हिँड्ने नेताको छवि दिएको छ। यसपटक रोजिएको रूकुम पूर्व माओवादी आन्दोलनको ऐतिहासिक आधार इलाका हो। विगतमा माओवादीले निरन्तर जितेको क्षेत्र रोज्नु संयोग होइन, स्पष्ट रणनीति हो।
यही प्रवृत्ति मधेशवादी राजनीतिमा पनि देखिएको छ। सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने योजनामा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तिम समयमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरे। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मैदान नछोड्ने अडान लिएपछि उनि पछि हट्न बाध्य भए।
उपेन्द्र यादव सप्तरी–३ बाट उम्मेदवार बनेका छन्। २०७४ मा यादवले सप्तरी–२ बाट जितेका थिए। तर २०७९ मा सोही क्षेत्रमा राउतसँग फराकिलो मतान्तरले पराजित भए। त्यसपछि बारा–२ को उपनिर्वाचनबाट संसद् छिरेका यादव यसपटक ‘पुरानो बदला’ लिन पुनः सप्तरी–२ फर्किन चाहन्थे। तर परिस्थितीले साथ नदिने देखेपछि उनले राजनीति दाउमा हाल्नु भन्दा क्षेत्र परिवर्तन गर्ने निर्णय लिए।
उपेन्द्र यादवको चुनावी इतिहास हेर्दा पनि क्षेत्र परिवर्तन नै मुख्य विशेषता देखिन्छ। २०६४ यता उनले हरेक निर्वाचनमा नयाँ क्षेत्र रोजेका छन्। कुनै पनि निर्वाचन क्षेत्रबाट दोहोर्याएर जितेको रेकर्ड छैन। जितेपछि क्षेत्र छाड्ने, हारेपछि अर्को सुरक्षित क्षेत्र खोज्ने यो शैलीले उनलाई ‘स्थायी मतदाता नभएको नेता’को आलोचना खेप्न बाध्य बनाएको छ।
यादवले २०६४ को पहिलो संविधानसभा चुनाव मोरङबाट जितेका थिए भने २०७० को दोस्रो संविधानसभा चुनाव सुनसरीबाट जितेका थिए।

