सिरहामा जलेको अवस्थामा भेटियो महिलाको शवः हत्या गरेर आगो लगाइएको आशंका
लहान— सिरहाको मिर्चैया नगरपालिका–७ अन्तर्गत पर्ने टेनाखोला किनारमा एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। तातृबोट क्षेत्रबाट करिब एक किलोमिटर टाढा पर्ने एकान्त स्थानमा शुक्रबार बिहान शव भेटिएको हो।
स्थानीयले दुर्गन्ध फैलिएको र जलेको अवशेष देखिएपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शव उठाएको छ। शव अत्यधिक जलेको र कुहिएको अवस्थामा रहेकाले मृतक महिलाको पहिचान हालसम्म खुल्न सकेको छैन।
प्रहरीका अनुसार घटनास्थलको अवस्था हेर्दा महिलाको हत्या गरी प्रमाण मेटाउने उद्देश्यले आगो लगाइएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। शव फेला परेको स्थान जंगल र खोला नजिकको एकान्त क्षेत्र भएकाले घटना सुनियोजित हुनसक्ने आशंका समेत गरिएको छ।
प्रहरीले शव पोस्टमार्टमका लागि अस्पताल पठाइसकेको छ भने मृतकको पहिचान खुलाउने प्रयाससँगै घटनाको सबै कोणबाट अनुसन्धान अघि बढाइएको जनाएको छ। घटनामा संलग्न हुनसक्ने व्यक्तिहरूको खोजी तथा आसपासका क्षेत्रमा सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ।
एकान्त स्थानमा जलेको अवस्थामा शव फेला पर्नु गम्भीर आपराधिक घटनाको संकेत भएको भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ। प्रहरीले थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।

