गुट्खा व्यापारीको उपहारमा बालनेको चुनावी दौडः सप्तरीबाट किर्ते नागरिकता लिएका मालपानीसँग खतरनाक गठजोड
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र साह (बालेन) ले चुनाव प्रचारका क्रममा प्रयोग गरेको अत्यन्तै महँगो गाडीले अब नयाँ राजनीतिक–कानुनी विवाद जन्माएको छ।
उक्त गाडी उपलब्ध गराउने भनिएका गुट्खा र चाउचाउ उद्योगपति कमलकिशोर मालपानीको नेपाली नागरिकताको वैधतामाथि नै गम्भीर प्रश्न उठेको छ। सरकारी निकायमा दर्ता भएको जाहेरीअनुसार मालपानीले झूटो तथा किर्ते विवरण पेश गरी दुई फरक जिल्लाबाट नेपाली नागरिकता लिएको आरोप छ।
जाहेरीमा उल्लेख भएअनुसार उनले रुपन्देही जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिँदा सुरुमा सप्तरी जिल्ला प्रशासन कार्यालयबाट जारी भएको भनिएको नागरिकता प्रमाणपत्रको विवरण पेश गरेका थिए। तर उक्त नागरिकता नम्बर (३७–०२–७१–१३६५८/४८२०) सप्तरी जिल्ला प्रशासन कार्यालयको अभिलेखमै नदेखिएको स्रोतको दाबी छ। यसले मालपानीको नागरिकता नै जालसाजीमा आधारित हुनसक्ने गम्भीर आशंका जन्माएको छ।
जाहेरीमा मालपानीका छोरा नितेश मालपानीमाथि पनि छानबिनको माग गरिएको छ। बाबुको नागरिकताको आधारमा नितेशले वंशजको नागरिकता लिएको भन्दै त्यसको वैधतामाथि प्रश्न उठाइएको हो। अहिले बालेनले प्रयोग गरिरहेको करिब ८ करोड रुपैयाँ मूल्यको गाडी उनै नितेश मालपानीले उपहार दिएको तथ्य प्रमाणित भइसकेको दाबी गरिएको छ।
तीन महिनाअघि, ०८२ असोज २३ गते वीरगन्ज भन्सारबाट छुटाइएको ब्रान्ड न्यु ‘डिफेन्डर’ गाडी त्रिमूर्ति इण्डष्ट्रिज प्रालिको नाममा दर्ता छ। उक्त गाडी नबिल बैंक लिमिटेडबाट सवारी साधन कर्जा शीर्षकमा लिइएको हो। त्रिमूर्ति इण्डष्ट्रिजका सञ्चालक नितेश मालपानी हुन् भने उनका पिता कमलकिशोर मालपानी यशोदा फुड्स (करेन्ट चाउचाउ) र श्रीराम टोबाको उद्योग (गुट्खा उत्पादन) का मालिक हुन्।
अर्थ मन्त्रालय स्रोतको दाबीअनुसार बालेनलाई गाडी उपलब्ध गराउने प्रक्रियामा ‘जेन–जी आन्दोलन’ भड्काउने अभियोग खेप्दै आएका सुधन गुरुङका प्रमुख स्पोन्सर मानिने बिचौलिया दीपक भट्टले समेत भूमिका खेलेका थिए। यसले विषयलाई व्यक्तिगत उपहारको सीमाभन्दा बाहिर पुर्याउँदै संगठित सञ्जाल र राजनीतिक लेनदेनको आशंका थप गहिरो बनाएको छ।
मालपानी विगतदेखि नै गुट्खा, चाउचाउ, मसला र प्याकेजिङ उद्योगमार्फत करछली, अन्तःशुल्क छली, कम तौलका सामग्री बिक्री र ट्रेडमार्क उल्लंघनजस्ता आरोप झेल्दै आएका व्यक्ति हुन्। श्रीराम टोबाको उद्योगको नाममा सुपारी आयात गरी भारततर्फ तस्करी गर्ने पात्रका रूपमा पनि उनी लुम्बिनी क्षेत्रमा चिनिने गरेको स्रोतहरूको दाबी छ।
यही पृष्ठभूमिमा बालेन साहको भूमिकाले थप विवाद जन्माएको छ। बालेनले एक समय काठमाडौंका पसलहरूमा गुट्खा बिक्री निषेध गर्दै जरिवाना अभियान चलाएका थिए। तर अहिले उनै ‘एक नम्बर गुट्खा व्यापारी’बाट अत्यन्तै महँगो नयाँ गाडी उपहार लिनुले बालेनको कथनी र करनीबीच गहिरो अन्तर देखिएको कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले टिप्पणी गरेका छन्।
मालपानी समूहका उद्योग व्यवसाय पनि विवादकै घेरामा छन्। यशोदा फुड्सले करेन्ट चाउचाउ र लाली चाउचाउ उत्पादन गर्छ भने श्रीराम टोबाको उद्योग, बुटवलले भोला गुट्खा, करेन्ट गुट्खा र जित खैनी उत्पादन गर्छ। त्रिमूर्ति इन्टरप्राइजेजले नेहा स्वीट सुपारी, करेन्ट मसला तथा प्लास्टिक प्याकेजिङ सामग्री उत्पादन गर्छ। यतिमात्र होइन, बुटवलस्थित हायात प्यालेस होटलको अधिकांश स्वामित्व र काठमाडौंको हायात प्यालेस होटलको ५४ प्रतिशत स्वामित्व पनि मालपानीसँग रहेको बुझिएको छ।
अझ चाखलाग्दो कुरा के छ भने रुपन्देही–२ बाट कांग्रेसका उम्मेदवार चुन्नु पौडेलसमेत मालपानीका व्यावसायिक साझेदार रहेको तथ्य बाहिर आएको छ। यसले उद्योग, राजनीति र सत्ता–सञ्जालबीचको सम्बन्धलाई थप शंकास्पद बनाएको छ।
नागरिकता विवाद, करछली, तस्करी आरोप र राजनीतिक पहुँचबीच बालेन साहले प्रयोग गरेको महँगो गाडी अब सामान्य चुनावी साधन मात्र रहेन। यो प्रकरणले ‘नैतिक राजनीति’ को दाबी गर्ने नेतृत्वको वास्तविकता, स्रोत र सम्बन्धमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ।

