लहान अस्पतालमा पोष्टमार्टमका लागि लगिएको किशोरीको शव गायब, लापरवाहीले शव साटिएको खुलासा

लहान — सिरहामा एक गम्भीर र स्तब्ध पार्ने घटना सार्वजनिक भएको छ। पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएको एक १६ वर्षीया किशोरीको शव अस्पतालबाटै गायब भएको छ।

गोलबजार नगरपालिका–३, जमदहकी निशा बानियाँको शव अस्पतालमा नभेटिएपछि आफन्त र स्थानीय आक्रोशित बनेका छन्। उनीहरुले सोमबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्।

निशा गत शनिबार बिहान करिब १० बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षण तथा पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पु¥याएको थियो।

तर, सोमबार शव बुझ्न अस्पताल पुगेका आफन्तलाई निशाको शव अस्पतालमै नरहेको र अर्कै युवतीको शव बुझ्न आग्रह गरिएको घटनाले अवस्था विस्फोटक बनेको हो। आफन्तका अनुसार अस्पताल प्रशासनले निशाको शव दिन नसक्ने बताएपछि उनीहरू स्तब्ध बने।

त्यसलगत्तै उनीहरूले गोलबजारस्थित पूर्व–पश्चिम राजमार्गमा शव नै गायब गरिएको भन्दै चक्काजाम गर्दै विरोध प्रदर्शन सुरु गरेका हुन्। प्रदर्शनका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

अस्पताल प्रशासनले भने लापरवाही भएको स्वीकार गर्दै अचम्मलाग्दो दाबी अघि सारेको छ। प्रादेशिक अस्पताल लहानका मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले शनिबारै सप्तरीको खडक नगरपालिकाबाट पनि उस्तै प्रकृतिको एक युवतीको शव आएको र आइतबार भूलवश त्यो पक्षले निशाको शव लगेको दाबी गरेका छन्।

उनका अनुसार निशाको शव जलाइसकिएको छ भने सप्तरीकी युवतीको शव अहिले पनि अस्पतालमै रहेको छ। यो दाबीले घटनालाई झनै गम्भीर र रहस्यमय बनाएको छ। शव साटासाट कसरी भयो भन्ने प्रश्नहरू उठेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालले घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन्। ‘यस्तो हुनु हुँदैनथ्यो। कसरी यस्तो भयो भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्छ,’ उनले भने। पीडित परिवारले सत्यतथ्य छानबिन, दोषीमाथि कडा कारबाही र निशाको शवको सुनिश्चितता माग गर्दै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट