स्वराजको आवरण फ्याँकेर सन्यासीको मास्कः सीके राउतको आध्यात्मिक पोशाकभित्र भावनाको राजनीति

राजविराज— मधेशी जनता भावनामा सजिलो र सिधा हुन्छन्। पुराना अपराध, असफलता वा वाचा भुलेर सहज विश्वास गर्ने प्रवृत्ति हुन्छ। यही कमजोरीको फाइदा उठाउँदै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सन्यासीको छवि प्रयोग गर्दै चुनावी मैदानमा आफूलाई विकल्पको रूपमा प्रस्तुत गरिरेका छन्।

फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका राउत आफनो फेसबुक पेज ‘डा. सीके राउत–सचिवालय’मा लेख्छन—‘म सांसारिक मोह–मायाबाट टाढा रहेर सन्यास ग्रहण गरेको व्यक्ति हुँ। अरू नेता मोह–मायाजालमा फँसेका छन्। निकास र विकासको लागि एउटै विकल्प म हुँ।’

वास्तवमा राउतले विगत वर्षौंदेखि नै आफूलाई सन्यासी, त्यागी, संयमी र सिद्धान्तवादी नेता भनेर चित्रण गर्दै आएका छन्। तर विडम्बना के छ भने यही ‘सन्यासी’ छवि बोकेका व्यक्ति आज चुनावी र प्रचारात्मक गतिविधिमा सबैभन्दा सक्रिय देखिन्छन्। घरदैलो, सभा, जुलुस, भाषण, पोस्टर र डिजिटल प्रचार—सबै माध्यममा उनी अरू दलको तुलनामा कम छैनन्। कतिपय ठाउँमा उनी आफूलाई एकमात्र विकल्प भनेर अरू सबै नेता भ्रष्ट, लोभी र असफल भएको दाबी गर्दै आएका छन्।

सन्यासको अर्थ त्याग हो। पद, प्रतिष्ठा, लाभ र व्यक्तिगत महत्वाकांक्षाबाट टाढा रहने जीवन हो। तर चुनाव भनेको सत्ता र प्रभावको प्रतिस्पर्धा हो। यस्तो अवस्थामा आफूलाई ‘साधु’ भनेर प्रचार गर्नु र मत माग्नु स्पष्ट विरोधाभास हो। राउतको भाषणमा अरू सबै नेता ‘मोह–मायामा फसेका’, ‘भ्रष्ट’ र ‘असफल’ भनेर चित्रण गर्दै आफूलाई मात्र शुद्ध र देशको उद्धारक देखाउने प्रवृत्ति छ। राजनीतिक विश्लेषक भन्छन्–‘यो आध्यात्मिक नभई राजनीतिक मार्केटिङ हो।’

२०७९ को निर्वाचनमा राउतले १५ बुँदाका वाचा गरेका थिए—फोहोरमैला व्यवस्थापन, घर–घर रोजगारी, स्वास्थ्य सेवा, शिक्षा सुधार, महिला–बालबालिका सुरक्षा, सार्वजनिक गुठी र मठ–मन्दिरको संरक्षण। तर आज पनि उनको क्षेत्रका अधिकांश समस्या यथावत् छन्। नगर फोहोरमैला र लामखुट्टेमुक्त छैन। सरकारी कार्यालयमा अझै लाइन बस्नुपर्ने बाध्यता छ। स्वास्थ्य, शिक्षा र महिला सुरक्षा सुधार योजनाहरू कार्यान्वयनमा छैनन्। भ्रष्टाचारविरुद्ध ठोस कारबाही देखिँदैन। यी वाचा पूरा नगरी फेरि उही क्षेत्रमा उम्मेदवार बनेर राउत मतदातामा नयाँ बाचा बाँड्दै छन्।

कुनै समय मधेशलाई छुट्टै देश वनाउनु पर्छ भन्दै भावनात्मक प्रचार गरेका राउत विस्तारै शान्तिपूर्ण राजनीतिमा आए। जनमत पार्टीको गठन गरेर अघिल्लो चुनावमा राम्रै परिणाम पाएका राउत पछिल्लो समय सङ्गठनात्मक दृष्टिले पनि संकटमा छन्। सप्तरी–२ मा उम्मेदवार बनेका उनलाई तीन विद्रोही उम्मेदवारले घेरावन्दी गरेका छन्। पूर्व प्रवक्ता शरद सिंह यादव नयाँ दल गठन गरी सोही क्षेत्रबाट उम्मेदवार बनेका छन्। प्रदेशसभा सदस्य हुँदै मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले पनि पार्टी छोडेर फरक दलबाट चुनाव लडेका छन्।

पार्टीका केन्द्रीय सदस्यसहित सात जना नेताले हालसालै सामुहिक राजीनामा दिएका छन्। राजीनामा पत्रमा नेतृत्वमाथि नातावाद, कृपावाद र ‘दास प्रथा’ जस्ता गम्भीर आरोप उठाइएको छ। पार्टीका प्रभावशाली नेताहरू पलायन भएपछि राउत स्वयं चेपुवामा देखिएका छन्।

यसरी स्पष्ट हुन्छ—सन्यासीको मास्कभित्रको नेतृत्व व्यक्तिगत र व्यक्तिवादी छ। संगठन, नीति, जवाफदेही र उत्तरदायित्व कमजोर छन्। राउतले ‘त्यागी’ र ‘साधु’ छवि बनाउने प्रयास गर्दा पनि वास्तविकता भने पार्टी भत्कँदै गएको, वाचा कार्यान्वयन नभएको र मतदाताको विश्वास घटिरहेको देखिन्छ।

मतदाता भन्छन—‘लोकतन्त्रमा नेता साधु होइन, जवाफदेही प्रतिनिधि हुनुपर्छ। तपस्या होइन, नीति चाहिन्छ। प्रवचन होइन, योजना चाहिन्छ। आत्मशुद्धिको भाषण होइन, कामको परिणाम चाहिन्छ। राउतले यदि साँच्चै सन्यास रोजेका हुन् भने सत्ता त्याग्नुपर्छ, र यदि राजनीतिमा आएका छन् भने साधु होइन, नेता बनेर काम देखाउनुपर्छ।’

सप्तरी–२ को चुनाव बाह्य प्रतिस्पर्धाभन्दा बढी पार्टीको आन्तरिक विघटनको परीक्षा बनेको छ। विद्रोही उम्मेदवार, सामूहिक राजीनामा र अनुभवी प्रतिस्पर्धीले राउतलाई रक्षात्मक राजनीतिमा सीमित बनाएका छन्। पुराना बाचा कार्यान्वयन नभएको र संगठन कमजोर भएको तथ्यले मतदातामा विश्वास घटाइरहेको छ।

अन्ततः ‘सन्यासी’को मास्क, भावनात्मक नारा र फेसबुक स्ट्याटसले मत जित्न गाह्रो छ। भाषणभन्दा व्यवहार, वाचा भन्दा परिणाम हेर्ने मतदाताले अब चुनावमा कस्तो निर्णय गर्लान त्यो भने हेर्न बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट